धनराजले सहकारीको ८१ लाख ऋण तिरेको खुलासा

धनराजले सहकारीको ८१ लाख ऋण तिरेको खुलासा

काठमाडौं– सहकारीमा आफ्नो संलग्नता नभई पूर्वपत्नीको मात्र संलग्नता रहेको दाबी गर्दै आएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड कोअपरेटिभको ८१ लाख रुपैयाँ ऋण तिरेको खुलेको छ ।

उनले आफ्नो नाममा लिएको उक्त परिमाणको ऋण तिरेको खुलेको हो । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले खबरहबलाई बताएअनुसार धनराजले ८१ लाख रुपैयाँ ऋण गत जेठ ६ गते तिरेका हुन् । धनराजका नाममा तिरिएको ऋणको भौचर खबरहबलाई प्राप्त भएको छ ।

उनले त्यसपछि अरू रकम भने नतिरेको कुम्भराजले खबरहबलाई बताएका छन् । आफ्नो सहकारीबाट धनराज दम्पतीले करिब १४ करोड रुपैयाँ लगे पनि उनी र उनकी श्रीमती ज्योति अहिले सम्पर्कविहीन भएको दाबी कुम्भराजले गरे ।

धनराजले साढे ४ वर्षअघि नै सम्बन्ध विच्छेद गरिसकेकी श्रीमतीले ऋण लिएको जिकिर गरिरहे पनि शुक्रबार खबरहबको सम्पर्कमा आएका कुम्भराजले गत वैशाख र जेठमा सहकारीकाे खातामा ८१ लाख रुपैयाँ  धनराजले पठाएको दाबी गरे ।

‘उहाँकी श्रीमतीलाई मैले विदेश पठाएको आरोप पनि मलाई लगाएका रहेछन्, नाटक गरिरहेका छन्’, उनले भने, ‘८२ वर्षको भएँ, अब स्वर्ग जानेबेला भएको बुढो मान्छेले किन ढाँट्नु । ज्योति र धनराज मिलेर मलाई फसाए, सहकारी पनि डुबाए ।’

 

संसदीय छानविन समितिमा उजुरी

धनराज र उनकी श्रीमती ज्योति मिलेर सहकारीबाट निकालेको १४ करोड ८१ लाख रुपैयाँ नतिरेको उजुरी कुम्भराजले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र सहकारी संस्थाको बचत हिनामिना छानबिनका लागि एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा बनेको संसदीय समितिमा पनि उजुरी दिएका छन् ।

सहकारी छानबिन संसदीय समितिका एक सदस्यका अनुसार कुम्भराजले जेठ ६ गते समितिको ४४ औँ बैठकमा पनि धनराजले सहकारीको केही रकम तिरेको बताएका थिए । तर अझै ठूलो परिमाणको रकम तिर्न बाँकी रहेको बयान उनले समितिसमक्ष दिएका थिए ।

धनराज र ज्योतिले आफूलाई स्वर्ग जाने बोलामा पीडा दिएकाले न्याय खोजेको बताए । अब आफूलाई संसदीय समिति र सरकारले न्याय दिनुपर्ने पनि उनले याचना गरे ।

‘जनताको रकम लुटेर सम्बन्ध विच्छेद गर्ने अनि श्रीमती विदेश पठायो भन्ने ? मलाई त नराम्रो गरे रे ! उनकै श्रीमतीको समेत धनराजले चरित्र हत्या गरे’, उनले अगाडि भने, ‘अरूको इज्जत फाल्छु भन्दा आफ्नै श्रीमतीको इज्जत फ्याँके । म बुढो मान्छेलाई फसाउन शक्तिको सहारा लिए । यस्ता हुन्छन् सादगी नेता ?’

तर धनराजले आफूले ०७६ सालबाटै श्रीमतीसँग डिभोर्स भएकाले आफूलाई कुनै जानकारी नभएको खबरहबसँग बताइसकेका छन् ।

यता कुम्भराज भने शक्तिमा हुनेले आफूलाई बर्बाद बनाएको बताए । ‘ठूला मान्छेको संरक्षणमा धनराज परेकाले मलाई मारमा पारिरहेका छन्’, उनले भने ।

कुम्भराज धनराजले बोलिरहेका ८० प्रतिशत कुरा गलत भएको दाबी गरेका छन् ।