विवेक नेपालका पहिलो फिडे मास्टर, ओलम्पिक रिङ एक्सपोमा एकल अग्रता

विवेक नेपालका पहिलो फिडे मास्टर, ओलम्पिक रिङ एक्सपोमा एकल अग्रता

काठमाडौँ - नेपालका सिएम विवेक थिङले ओलम्पिक रिङ एक्सपो क्फासिक बुद्धिचाल प्रतियोगितामा आफ्नो व्यक्तिगत रेटिङ १९.४ बढाएर २३०१.४ रेटिङ पुर्‍याउँदै पर्फोमेन्सका आधारका नेपाल कै पहिलो फिडे मास्टरको टाइटल प्राप्त गर्नुभएको छ ।

हङ्गेरी चेस फेडेरेशनको आयोजनामा बुढापेष्टमा जारी ओलम्पिक रिङ एक्स्पो क्लासिक बुद्धिचाल स्पर्धामा नेपालका क्याण्डिडेट मास्टर विवेकले एकल अग्रता समेत कायम गर्नुभएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा रेटिङ २२८२ प्राप्त सिएम विवेकले चौथो चरणको खेलमा दोस्रो वरियताका २२७८ रेटेड हङ्गेरीका अन्तर्राष्ट्रिय मास्टर टर्जु अटिलालाई पराजित गर्नुभएको हो । 

अन्तर्राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा नेपालका उच्च रेटेड खेलाडी सिएम विवेक शीर्ष वरियतामा रहनुभएको छ । विश्वका ११ राष्ट्र सहभागी प्रतियोगितामा चौथो चरण सम्म २६ अन्तर्राष्ट्रिय खेलाडीहरू प्रतिस्पर्धामा छन् । 

विवेकले पहिलो चरणमा जर्मनका हाहन निक्लासलाई, दोस्रो चरणमा हङ्गेरीका बाकी बेन्स र तेस्रो चरणमा हङ्गेरीकै २११९ रेटेड अन्तर्राष्ट्रिय मास्टर मेस्जारोस आन्द्रासलाई हराउनुभएको थियो । चार चरणको खेलसँगै विवेकले शतप्रतिशत जित निकाल्दै चार अङ्क बनाउनुभएको छ ।

दोस्रो स्थानमा रहेका इटालिका २०७० रेटेड ला बार्बेरा मानफ्रेडिको ३.५ अङ्क छ । अब विवेकले मानफ्रेडि सँग पाँचौँ चरणमा प्रतिस्पर्धा गर्नुहुनेछ । नवौँ चरणसम्म चल्ने यस प्रतियोगिताको विजेताले तीन सय ७५ युरो, उपविजेताले तीन सय युरो र तेस्रो हुनेले दुई सय ५० युरो पुरस्कार पाउनेछन् ।

अष्ट्रेलियामा बस्दै आउनुभएको विवेक ओलम्पियाडमा भाग लिन उतैबाट हङ्गेरी पुग्नुभएको हो । हङ्गेरीले भिसा नदिएका कारण नेपालका अन्य खेलाडीले ओलम्पियाडमा भाग लिन पाएनन् ।