चौरजहारी नगरपालिकाले पाठेघर खसेका ४६ महिलाको निःशुल्क शल्यक्रिया गर्ने

चौरजहारी नगरपालिकाले पाठेघर खसेका ४६ महिलाको निःशुल्क शल्यक्रिया गर्ने

चौरजहारी - रुकुम पश्चिमको चौरजहारी नगरपालिका क्षेत्रभित्रका ४६ जना पाठेघर खसेका महिलाहरूको निःशुल्क शल्यक्रिया हुने भएको छ । 

नगरपालिकाले यौन तथा प्रजनन् स्वास्थ्य जाँच शिविर सञ्चालन गरेर पहिचान भएका पाठेघर खसेका महिलाहरूको नि:शुल्क शल्यक्रिया गर्दैछ ।

नगरपालिका क्षेत्रभित्र विभिन्न पाँच स्थानमा शिविर सञ्चालन गरी एक हजार ६८० जना महिलाहरूको स्वास्थ्य परीक्षण गरिए र पाठेघर खसेका ४६ महिला पहिचान भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिएका छन् ।

चौरजहारी नगरपालिकाको आयोजना र आड्रा नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा १० दिनसम्म पाँच ठाउँमा स्वास्थ्य जाँच परीक्षण शिविर सञ्चालन गरिएको थियो । अप्रेसनका लागि छनोट भएका ४६ जना पाठेघर खसेका महिलाहरूको कोहलपुर मेडिकल कलेजमा अप्रेसन हुनेछ । एक जना कुरुवासहित अप्रेसनको सबै खर्च भने निःशुल्क हुनेछ । 

ग्रामीण परिवेशमा अझै पनि महिलाहरू रोग लुकाएर बस्ने गरेका कारण समयमै उपचार नपाउने अवस्थाको अन्त्य गर्न नगरपालिकाले आड्रा नेपालसँग सहकार्य गरेको थियो ।

स्त्रीरोग विशेषज्ञ डा. मधु तुम्बाहाम्फेको नेतृत्त्वमा एक दर्जन स्वास्थ्यकर्मीको टोली शिविरमा परिचालन भएको थियो ।

नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारी, सहिदस्मृति नगर अस्पताल, १४ नम्वर वडा कार्यालय, वडा नम्वर १२ स्थित आधारभूत स्वास्थ्य केन्द्र र वडा नम्वर ३ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँच शिविर सञ्चालन गरेको थियो ।