सहकारी पक्ररण : गृहमन्त्रीको निर्देशनलगत्तै रवि र जीबीका साझेदार छवि पक्राउ

सहकारी पक्ररण : गृहमन्त्रीको निर्देशनलगत्तै रवि र जीबीका साझेदार छवि पक्राउ

काठमाडौं- गृहमन्त्री रमेश लेखकको निर्देशतलगत्तै सहकारी हिनामिना प्रकरणमा मुछिएका गोर्खा मिडिया नेट्वर्कका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

उनलाई प्रहरीले काठमाडौंबाटै आइतबार पक्राउ गरेको हो । जोशीलाई पोखरास्थित सूर्यदर्शन  सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइने भएको छ।

सूर्यदर्शनको ठूलो रकम गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनमा हालिएको थियो ।

गत भदौ ३१ गते मन्त्रिपरिषद् बैठकबाट पारित सहकारीको बचत हिनामिनासम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री लेखकले आइतबार मात्रै प्रहरीलाई निर्देशन दिएका थिए । उनको निर्देशनलगत्तै छवि समातिएका हुन् ।

यही बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै पारित गरेको थियो ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषद्ले सम्बन्धित मन्त्रालयमा पठाएको अवस्थामा गृहमन्त्री लेखकले प्रहरीलाई निर्देशन दिएका हुन् ।