जापानले भवन सफाइमा कामदार लैजाने, नोभेम्बर २७ देखि परीक्षा हुँदै

जापानले भवन सफाइमा कामदार लैजाने, नोभेम्बर २७ देखि परीक्षा हुँदै

काठमाडौं- जापानले विशेष दक्ष कामदार–स्पेसिफाइड स्किल्डि वर्कर (एसएसडब्ल्यू) भिसामा नयाँ ‘भवन सफाइ’का क्षेत्रमा नेपालबाट कामदार लैजाने भएको छ । जापान सरकारले सन् २०१९ देखि सुरु भएको एसएसडब्ल्यू अन्तर्गत जापानले अहिले १२ क्षेत्रमा कामदार भित्र्याउने गर्छ ।

एसएसडब्ल्यूका १२ मध्ये नेपालबाट हालसम्म चार क्षेत्रमा मात्रै कामदार जाने गरेका थिए । फुड सर्भिस, नर्सिंग केयर र अकोमेडेसन क्षेत्रमा कामदार गइरहेका थिए । अब नेपालबाट ‘बिल्डिंङ क्लिनिंङ’ अर्थात् भवनको सरसफाइका क्षेत्रमा कामदार लैजाने भएको हो ।

जापानको सरकारी निकाय, जापानको भवन मर्मत संघ (जेबीएमए) र जापानको प्लेन्टी कम्पनीका सीईओले नेपाल आएर कामदार लैजान आवश्यक अध्ययन गरेका थिए । नेपाल आएर उनीहरू यहाँबाट कामदार लैजान सकारात्मक भएका थिए ।

त्यसपछि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र जापान सरकारले स्वीकृति दिएसँगै जापानको यस क्षेत्रमा काम दिने संघले कामदार लैजान परीक्षा सञ्चालन मिति सार्वजनिक गरेको हो ।

यससँगै अब नेपालबाट भवन सरसफाइका क्षेत्रमा काम गर्न जान चाहने नेपालीले ‘स्किल टेस्ट’ अर्थात् प्रयोगात्मक परीक्षा र भाषा परीक्षा पास गरी जापान जान पाउने भएका हुन् ।

कहिले हुन्छ परीक्षा?

पहिलो पटक भवन सफाइका क्षेत्रमा कामदार लैजान जापानी पक्षले आउँदो नोभेम्बरको २७ देखि २९ सम्म नेपालमा प्रयोात्मक परीक्षा गर्ने भएको छ । यसका लागि परीक्षा केन्द्र पनि तय भइसकेको छ ।

कस्तो हुन्छ प्रयोगात्मक परीक्षा?

यो परीक्षा भवनको सरसफाइका लागि आवश्यक पर्ने सिप सम्बन्धी स्किल टेस्ट परीक्षा हो । यसमा ६० अंकको प्रयोगात्मक र ४० अंकको लिखित गरी १०० पूर्णांकको हुन्छ । बढी प्रयोगात्मक हुने भएकाले सहजै पास हुन सकिने बताइएको छ ।

आवेदन कसरी दिने?

यो परीक्षाका लागि अक्टोबर महिनामा आवेदन खुल्ने भएको छ । यस क्षेत्रमा कामदार लैजान लागेको जापानको भवन सरसफाई क्षेत्रको संघले नै परीक्षा सञ्चालन गर्नेछ । नेपालमा त्यसको व्यवस्थापन काठमाडौंको बानेश्वर स्थित प्लेन्टी ट्रेनिङ नेपाल (Plenty Training Nepal)ले गर्नेछ ।

प्रयोगात्मक परीक्षाको तालिम कसरी र कहाँ लिने?

भवन सरसफाइ क्षेत्रको स्किल टेस्ट अथवा प्रयोगात्मक परीक्षामा पास हुन त्यसको तालिम कक्षा पनि प्लेन्टी नेपालले सञ्चालन गरिरहेको छ । तालिम कक्षा अक्टोबर एकदेखि सञ्चालन हुने प्लेन्टी नेपालले जनाएको छ । यो तालिम करिब एकदेखि डेढ महिनामै पूरा हुने कम्पनीले जनाएको छ ।

भाषाको कुन लेभल चाहिन्छ?

एसएसडब्ल्यू अन्तर्गत तोकिएको जेएफटीको जुनसुकै भाषाको लेभल पास गरेको भएपनि हुन्छ । तालिम अथवा स्किलको परीक्षा पास गरेपछि पनि भाषा परीक्षा पास गर्न सकिने र जापान जान सकिने बताइएको छ  । पहिले नै भाषाको कुनै लेभल पास गरिसकेका ले स्किल टेस्ट पास गरी जापान जान पाउनेछन् । भाषाको आवश्यकता र अन्य सबै विषयहरु जापान सरकारले एसएसडब्ल्यू भिसाको व्यवस्था अन्तर्गत तोकेकै लागु हुनेछन् । भाषा परीक्षा र भाषाको तालिम पनि प्लेन्टी नेपालले दिइरहेको छ ।

कस्तो हुन्छ टेस्ट?

स्किल टेस्टमा सरसफाइ गर्दा आवश्यक चरण, कति समयमा सक्ने, कसरी गर्ने जस्ता कुरा सिक्नु पर्ने बताइएको छ । यो प्रयोगात्मक नै हुने भएका कारण पास गर्न सहज हुने प्लेन्टी नेपालले बताए ।

को को जान सक्छन्?

१७ वर्ष नाघेको र भाषा तथा स्किल टेस्ट पास गरेको व्यक्ति जान सक्नेछन् । यसमा मिल्ने सेवासुविधा जापान सरकारले तोकेको सबै मिल्छ । महत्वपूर्ण कुरा भनेको यो क्षेत्रमा काम गर्ने जापानी नागरिक र विदेशीले तलब भत्ता, सेवा सुविधा, लगायत सबै कुरा समान हुने उनले बताए ।

त्यसैले सेवा सुविधा, स्वास्थ्य बिमा, पेन्सन प्रणालीमा जोडिने, तलबभत्ता, महँगीभत्ता लगायत सबै कुराको ढुक्क हुने प्लेन्टीले जनाएको छ ।

नयाँ जान चाहनेका लागि सहज क्षेत्र एसएसडब्ल्यूका अन्य क्षेत्रमा जान तयारी गरिरहेकाहरुलाई यो क्षेत्रमा जान निकै सहज हुने उनको भनाइ छ । अन्य क्षेत्रमा अन्तर्वाता दिँदा निकै प्रतिस्पर्धा छ भने यो क्षेत्रमा प्रतिस्पर्धा कम रहेको कम्पनीको भनाइ छ ।

कति जना जानसक्छन्?

पहिलो पटक जापानले यो क्षेत्रमा नेपालबाट ३०० भन्दा बढी कामदार लैजाने तयारी गरेको छ ।

फाइदा के?

जापानको सरसफाइको स्तर सिकेका जनशक्तीले नेपालमा आएर काम गर्दा विश्वकै उत्कृष्ट स्तरको सेवा पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा दिनसक्ने यस क्षेत्रका सरोकारवालाको भनाइ छ । त्यसले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ । पाँच वर्ष जापानमा गएर काम गरेर फर्किेन व्यक्तिले नेपालमा आफ्नै व्यवसाय गर्दा वा काम गर्दा समेत उत्कृष्ट स्तरको सेवा दिने कम्पनीको विश्वास छ ।

कति वर्षको हुन्छ भिसा?

सुरुमा पाँच वर्षका लागि मिल्ने भिसा अवधि थपिन पनि सक्ने बताइएको छ । लामो समय जापानमै बसेर केही गर्न चाहन्छु भन्नेले एसएसडब्ल्यू२ स्तरमा जान सकिने बाटो पनि रहेको प्लेन्टीले जनाएको छ । त्यसमा गइसकेपछि जति वर्ष पनि जापानमा बस्न सकिने र परिवार लगेर पीआर समेत लिएर बस्न सकिने प्लेन्टी नेपालको भनाइ छ ।

स्किल टेस्ट र भाषा पास भएपछि कति समय लाग्छ?

स्किल टेस्ट र भाषा दुवै पास गरिसकेका व्यक्ति दुईदेखि चार महिनामा जापान पुगेर काम गर्नसक्ने कम्पनीको भनाइ छ । यो नयाँ क्षेत्र भएको प्रतिस्पर्धा कम रहेको र पास भइसकेपछि एकदमै छिटो प्रोसेस हुने प्लेन्टीले जनाएको छ । कुराकानी गर्नेभन्दा पनि सामान्य काम गर्ने हुँदा भाषाको समेत सामान्य स्तर भए पुग्ने बताइएको छ । भाषा प्लस पोइन्ट जस्तै हो ।

कसरी खुल्यो नयाँ क्षेत्रमा अवसर

प्लेन्टी नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र भट्टले यो फिल्डमा जान चाहने नेपालीहरुले अन्य परीक्षा हुने गरेका ठाउँ म्यानमार, फिलिपिन्स, श्रीलंका गएर परीक्षा दिएर जानु पर्ने बाध्यता रहेको बताए । उनले भने,“अन्य देशबाट जाने, धेरैले नेपालबाट पर्यटन भिसामा जापान लगेर त्यहाँ परीक्षा दिन लगाएर पास भएपछि नेपाल फर्काएर फेरि कामदार भिसामा लैजाने गरेका थिए । यो निकै खर्चिलो अवस्था थियो । त्यसैले हामीले नेपालबाटै सहज तरिकाले नयाँ क्षेत्रमा अवसर खुलाएका हौं ।”

अहिले जापान गएर काम गरेर फर्किनेले भोलि नेपालमा यस क्षेत्रमा निकै राम्रो गर्नसक्ने उनको भनाइ छ । “हाम्रो देश पर्यटनसँग जोडिएको देश हो । पर्यन भन्ने वित्तिकै हस्पिटालिटी तथा सरसफाइ सुरुमा पर्छ । नेपालमा स्टार होटल बढ्दै गएका छन् । अन्तर्राष्ट्रिय होटल बढ्दै छन् । अबको चारपाँच वर्षमा यो दोब्बर हुन्छ । यो क्षेत्रमा दक्ष कामदारको आवश्यकता पनि बढ्दै गइरहेका छ । यस्तोमा हामीले जापानमा काम गरेर आएका विश्व स्तरका जनशक्ति उत्पादन गर्न सक्यौं भने नेपालको पर्यटन क्षेत्रको स्तर पनि आफै उकासिन्छ,” प्लेन्टी नेपालका सीईओ भट्टले भने ।

जापानमा काम गर्ने जाने विदेशी कामदारलाई र जापानका नागरिकले मिल्ने सबै सेवा सुविधा समान हुने भएका कारण यो नेपालीहरुका लागि राम्रो अवसर हुने उनको विश्वास छ ।