उद्धार सामग्री हस्तान्तरण

उद्धार सामग्री हस्तान्तरण

रुकुमपश्चिम- नेपाल रेडक्रस सोसाइटी रुकुमपश्चिम शाखाले विपत् प्रतिकार्यका लागि उद्धार सामग्री हस्तान्तरण गरेको छ । रेडक्रसले जिल्ला तथा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र र वडा विपत् व्यवस्थापन समितिलाई विपत् प्रतिकार्य सामग्री हस्तान्तरण गरेको हो । 

नेपाल रेडक्रस सोसाइटीका जिल्ला कार्यक्रम संयोजक सरोज थापाका अनुसार सानीभेरी गाउँपालिका–४ र त्रिवेणी गाउँपालिका–९ र १० मा रहेको वडा विपत् व्यवस्थापन समिति, सानीभेरी र त्रिवेणी गाउँपालिकामा रहेका स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र र जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई उद्धार सामग्री हस्तान्तरण गरिएको हो । कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम अन्तर्गत विपत् व्यवस्थापनका सामग्री उपलब्ध गराइएको संयोजक थापाले जानकारी दिनुभयो । सम्बन्धित वडा कार्यालय, गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमै रेडक्रसका पदाधिकारी तथा कर्मचारीको टोली पुगेर सामग्री हस्तान्तरण गरिएको हो । विपत्पश्चात् उद्धारका लागि अत्यावश्यक मानिने विभिन्न २७ प्रकारका सामग्री उपलब्ध गराइएको रेडक्रस रुकुमपश्चिमका सभापति रमा गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार विपत्का घटना जुनसुकै बेला घट्न सक्ने जोखिम कायमै रहेको र तत्पश्चात् जिल्लामा उद्धारका सामग्री अभाव देखिएकाले सामग्री व्यवस्थापन गरेर हस्तान्तरण गरिएको हो । यसबाट घटना घटिहालेमा तत्कालै खोज, उद्धारलगायतका कार्यमा लाग्न सहज हुने विश्वास लिएको सभापति गौतमले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा भएको सामग्री हस्तान्तरण कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले रेडक्रसले विपत् प्रतिकार्यका लागि महत्वपूर्ण सामग्री उपलब्ध गराएको बताउनुभयो । उहाँले यी सामग्रीले विपत्पछिको प्रतिकार्यका लागि अत्यन्तै सहजता दिलाउने जनाउनुभयो ।