विद्यालयमा कामचलाउ सुधार योजना

विद्यालयमा कामचलाउ सुधार योजना

सुर्खेत - वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयले निर्माण गर्ने विद्यालय सुधार योजना (एसआइपी) कार्यान्वयनमा निकै कमजोर रहेको पाइएको छ । ती विद्यालयले पूर्ण मापदण्ड अनुसार योजना नबनाई प्रायः जसो कामचलाउ रूपमा बनाउँदा कार्यान्वयनमा कमजोर रहेको पाइएको हो । 

वीरेन्द्रनगर नगरपालिकाको नगरशिक्षा शाखाले नगरभित्रका सामुदायिक विद्यालयले बनाएका विद्यालय सुधार योजना निकै कमजोर रहेको जनाएको छ । नगरशिक्षा प्रमुख उपसचिव धीरेन्द्रप्रसाद शर्मा लम्सालले नगरभित्रका सामुदायिक विद्यालयले विद्यालय सुधार योजना बनाएको तर कार्यान्वयन निकै कमजोर रहेको बताउनुभयो । नगरपालिकाभित्र ६० वटा सामुदायिक विद्यालय छन् । उपसचिव शर्माले बनाइएका योजना धेरै जसो कामचलाउ खालका रहेको बताउँदै त्यसमा परिमार्जनको आवश्यकता रहेको उल्लेख गर्नुभयो । विद्यालय सुधार योजना (एसआइपी) बनाइए पनि परिमार्जन नगरिँदा अब प्रत्येक सामुदायिक विद्यालयले वर्षमा अद्यावधिक र पाँच वर्षमा परिमार्जन गर्नुपर्ने प्रावधान रहेको उहाँको भनाइ छ । 

विद्यालयलाई राम्रो बनाउन, शिक्षण राम्रो बनाउन र सिकाइ राम्रो बनाउन विद्यालय सुधार योजना अनिवार्य निर्माण गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तरका लागि शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिको भूमिका र योगदान वृद्धि गर्न विद्यालय सुधार योजना अनिवार्य बनाउनुपर्ने उपसचिव शर्माले बताउनुभयो । उहाँले योजना प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मात्रैले बनाएर नहुने भन्दै विद्यालयको सेवा क्षेत्र पर्ने सामाजिक सङ्घ संस्था र विद्यार्थीको सहभागिता अनिवार्य हुनुपर्ने जानकारी दिनुभयो । सामुदायिक विद्यालयले अनिवार्य रूपमा विद्यालय सुधार योजना बनाउनुपर्ने भनिए पनि संस्थागत विद्यालयलाई भने अनिवार्य छैन । नगरशिक्षा शाखाका प्रमुख उपसचिव लम्सालले संस्थागत विद्यालयलाई योजना बनाउनुपर्ने भनेर उल्लेख नभएको बताउनुभयो । 

वीरेन्द्रनगर नगरपालिका–४ को भैरव माध्यमिक विद्यालयले विद्यालय सुधार योजना बनाउन लागेको छ । विद्यालयले सर्वपक्षीय अन्तर्क्रियाको आयोजना गरी सुधार योजना बनाउन थालेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाराम तिमिल्सेनाले गुणस्तरीय शिक्षाका लागि नमुनायोग्य विद्यालय बनाउन विद्यालय सुधार योजना बनाउन लागिएको जानकारी दिनुभयो । योजनालाई समयसापेक्ष बनाउन सर्वपक्षीय सुझाव लिएर अद्यावधिक तथा परिमार्जन गरिने उहाँले बताउनुभयो । 

भैरव माध्यमिक विद्यालयमा शिशुदेखि कक्षा १२ सम्म एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापक भक्तबहादुर जिसीले एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको तर विद्यालयमा दलित, जनजाति र अपाङ्गता भएका भनेर नछुट्याइएको जानकारी दिनुभयो । उहाँले प्राथमिक तहसम्म विद्यार्थी भर्नादर केही कम भएको र माथिल्लो तहको तुलनामा केही बढी भएको बताउनुभयो । विद्यालय सुधार योजना बनाउन वीरेन्द्रनगर नगरपालिकाका नगरशिक्षा प्रमुख उपसचिव धीरेन्द्रप्रसाद शर्मा लम्सालले सहजीकरण गर्नुभएको छ ।