एफआइए मोटर स्पोर्टसमा नेपाली खेलाडीको पनि सहभागी हुँदै

एफआइए मोटर स्पोर्टसमा नेपाली खेलाडीको पनि सहभागी हुँदै

काठमाण्डौ- अन्तर्राष्ट्रिय अटोमोबाईल सङ्घको आयोजनामा सञ्चालन हुनलागेको ओलम्पिक ढाँचाको विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मोटरस्पोर्टसको प्रतियोगितामा ३ नेपाली खेलाडीले सहभागीता जनाउँदैछन् । 

अक्टोबर २३ देखि २७ मा स्पेनको भ्यालेन्सियामा सम्पन्न हुने खेलमा ३ नेपाली खेलाडी सहभागी हुने निश्चित भएसँगै खेलाडीत्रयले दर्जनाैं विधामध्ये २ प्रकारका प्रतिष्पर्धामा सहभागिता जनाउने छन् । ई–स्पोर्टस् जिटी विधामा दीप्रश शाक्यले प्रतिष्पर्धा गर्नेछन् भने कृष्णप्रसाद पौडेल र प्रज्ञा कँडेल अटो स्लालमका प्रतिष्पर्धी हुन् । 

कार्टस् चालक रहेका दीप्रश नेपाली सीम–रेसिङका उत्कृष्टमध्येका पर्दछन् । त्यस्तै कृष्णप्रसाद एसिया प्यासिफिक अटोजिमखाना च्याम्पियनशिपका प्रतिष्पर्धी र एथलेट कमिसनका संयोजकसमेत हुन् । त्यसैगरी बैङ्कको अधिकृत प्रज्ञा नेशनल अटोक्रसकी प्रतिष्पर्धी तथा मोटर स्पोर्टसको अनुमतिपत्रप्राप्त चालक हुन् ।

प्रत्येक २ वर्षमा हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्लेटफर्ममा विश्वका शयभन्दा बढी देशका खेलाडीसँग प्रतिष्पर्धा हुने गर्दछ । खेलमा मोटर स्पोर्टसका विश्वप्रसिद्ध चालकसँग नेपाली चालकको समानान्तर उपस्थित जनाउने छ । नेपाल अटोमोबाईल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल नेपालीटीमको अफिसियल डेलिगेट र टीम व्यवस्थापकमा यदुराज लामिछाने तथा यसअघिको संस्करणमा फ्रान्सको मार्गबाटै समाचार सम्प्रेषण गरेको यात्री मिडिया डेलिगेटको रूपमा उपस्थित हुनेछन् । देशमा भर्खरै लोकप्रिय बन्दै गरेको मोटर स्पोटर्सको प्रवर्द्धन तथा विश्वस्तरीय चालक तयार गर्न यस किसिमको अन्तर्राष्ट्रिय सहभागिताबाट खेलको निखारसँगै राष्ट्रिय चिनारीमा समेत थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

अघिल्लोसंस्करण २०२२ का समेत टीम व्यवस्थापक रहेका यदुराज लामिछानेले एफआईए मोटर स्पोर्टस् गेम्स- २०२४ मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा नेपाली मोटर स्पोर्टस्ले गर्व महशुस गरेको र गेम्सको उत्कृष्ट प्रतिष्पर्धीसँग प्रतिष्पर्धा गर्न खेलाडी उत्सुक रहेको प्रतिकृया दिएका छन् ।

गेम्सका लागि नेपालीटीम समर्पित रहेको र राम्रो प्रदर्शन गर्ने विश्वास गर्दै सङ्घका अध्यक्ष दशरथ रिसाल भन्छन्, ‘यो केवल प्रतिष्पर्धामात्र होईन, नेपालको बढ्दो मोटर स्पोर्टस् संस्कृतिलाई प्रदर्शन गर्ने अवसर पनि हो ।’