स्थानीय परिकारप्रति बढ्दो आकर्षण
धनगढी - धनगढी उपमहानगरपालिका–१५, सुर्मीकी विष्णुदेवी चौधरी र उहाँको समूहका सदस्यलाई परिकार बनाउन भ्याइनभ्याइ छ । धनगढीमा आयोजित महिला स्वरोजगार मेलामा सडकमै थारू परिकार पकाउन र ग्राहकलाई दिन सबै व्यस्त छन् ।
ढिक्री, अनदीको भात, घोँगी, फुलौरी, गँगटाको पकौडा, तारेको माछा, अचारलगायतका परिकारको स्वाद लिनेको कमी थिएन । मेला हेर्न आएका धेरै जसो व्यक्ति स्थानीय परिकारसँग रमाइरहेका थिए । “हामीले बनाएको खानाको परिकार राम्रैसँग बिक्री भइरहेको छ,” चौधरीले भन्नुभयो, “मासुका धेरै परिकार ल्याएनौँ । धेरै जसोले ढिक्री र अनदीको भातसँग मासु खोज्दैछन् ।” धनगढी उपमहानगरपालिकाको व्यवस्थापनमा शनिबार धनगढीको पार्क चोकस्थित सडक क्षेत्रमा महिला स्वरोजगार मेला लागेको हो । मेलामा विभिन्न स्थानीय खानाका परिकारको व्यापार राम्रो भएको छ । थारू, रानाथारू, नेवारी, पहाडीलगायतका समुदायमा प्रचलित स्थानीय खानाका परिकार मेलामा विभिन्न महिला समूहले राखेका थिए ।
मेलामा स्थानीय परिकारको व्यापार अपेक्षा गरेकोभन्दा बढी भइरहेको धनगढी उपमहानगरपालिका–५, तारानगरकी सम्झना चौधरीले बताउनुभयो । “धेरै जसो ढिक्री, घोँगी, माछा, मासु, फुलौरीको व्यापार भइरहेको छ,” उहाँले थप्नुभयो, “थारूभन्दा पनि अन्य समुदायका मानिसले यस्ता परिकार बढी किनिरहेका छन् ।”पहिलो पटक आयोजित महिला स्वरोजगार मेलामा स्थानीय खानाका परिकारका साथै स्थानीयस्तरमा उत्पादित ढकिया, झोलालगायतका सामग्री राखिएको थियो । महिलालाई स्वरोजगार बनाउने उद्देश्यका साथ यो मेला अब धनगढीमा हरेक शनिबार लाग्ने भएको छ ।
बजारमा पाइने फास्टफुडका परिकारभन्दा स्थानीय खानाका परिकार स्वादिलो र स्वस्थकर हुने गरेका कारण धेरै जसोले यस्ता परिकार मन पराउने गरेको थारू परिकार खाँदै गर्दा भेटिएका गोविन्द अधिकारीले बताउनुभयो । उहाँले आफू थारू बस्तीमै हुर्किएका कारण थारू परिकार मन पराउने प्रतिक्रिया दिनुभयो ।
मेला, महोत्सवसहित होमस्टेमा स्थानीय परिकारको माग बढ्दो छ । स्थानीय खानाका परिकारप्रति आकर्षण बढेको होमस्टे महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिनेश दहितको भनाइ छ । “हामीकहाँ होमस्टेमा पाहुना ढिक्री, अनदीको भात, घोँगी, स्थानीय माछा, कुखुरा जस्ता स्थानीय परिकार खानकै लागि आउँछन्,” उहाँले भन्नुभयो, “स्थानीय खानाको परिकारप्रति मान्छेको आकर्षण बढेको छ ।”
विभिन्न सिप सिकेर उपयोग गर्ने अवसर नपाएका महिलालाई उद्यमशील बनाउनका लागि मेला आयोजना गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । अबदेखि हरेक शनिबार लाग्ने महिला स्वरोजगार मेलामा स्थानीय परिकारका साथै स्थानीय उत्पादन बिक्री गर्न सहज हुने नगरप्रमुख गोपाल हमालले बताउनुभयो ।
प्रतिक्रिया