भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी स्वदेश फिर्ता

भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी स्वदेश फिर्ता

काठमाडौं - भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँचदिने औपचारिक नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनुभएको छ ।

प्रधान सेनापति महारथी अशोकराज सिग्देलको निमन्त्रणामा पाँचदिने औपचारिक नेपाल आउनुभएको भारतीय स्थल सेनाध्यक्ष द्विवेदी र उहाँका श्रीमती सुनीता द्विवेदी आइतबार स्वदेश फिर्ता हुनुभएको हो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारी र उहाँकी धर्मपत्‍नीले बिदाइ गर्नुभएको थियो । 

भ्रमणको दौरान जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्नुभएको थियो । जनरल द्विवेदीले भ्रमणको दौरानमा उहाँले राष्ट्रपति, प्रधानमन्त्री, रक्षा मन्त्री र प्रधान सेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको थियो । उहाँले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित पश्चिम पृतना हेडक्वाटरको भ्रमण गर्नुका साथै मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन र माउण्टेन फ्लाइटमार्फत विभिन्न हिमालको अवलोकन गर्नुभएको थियो ।

यस भ्रमणले दुई देशबिच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।