चितवनमाथि कर्णालीको रोमाञ्चक जित

चितवनमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौँ - कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजमाथि रोमाञ्चक जित निकालेको छ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हरायो । 

जितका लागि एक सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले १९.५ ओभरमा चार विकेटको क्षतिमा एक सय ३२ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

कर्णालीका लागि भारतीय क्रिकेटर शिखर धवनले ४५ रन बनाउनुभयो । उहाँले ४१ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै चाडविक वाल्टनले ३० र देव खनालले २९ रन बनाउनुभयो । जिसन मक्सुदले अविजित १२ र अर्जुन घर्तीले ११ रन बनाउनुभयो । बलिङमा चितवनका कुशल मल्ल, रवि बोपारा र जान निकोल लफ्टी-इटनले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनाएको थियो । 

चितवनका लागि बोपाराले ४० बलमा सात चौका र एक छक्काको सहयोगमा ५९ रन बनाउनुभयो । कप्तान कुल मल्लले २३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिनुभयो । जिसम मक्सुदले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिनुभयो । लिगमा तीन खेल सकेको कर्णालीको यो पहिलो जित हो ।

यसअघि कर्णाली जनकपुर बोल्ट्ससँग आठ र काठमाडौँ गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो । तीन खेलका पहिलो हार खेपेको चितवनले यसअघि पोखरा एभेन्जर्सलाई ८७ रन र काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको थियो ।