आन्तरिक पर्यटनको गन्तव्य बन्दै पिली

आन्तरिक पर्यटनको गन्तव्य बन्दै पिली

कालीकोट -कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–७, पिली पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ बनेका संरचना र कर्णाली राजमार्गको सिरानमा पर्यटकीय क्षेत्र विस्तार भइरहेकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न  थालेको हो । द्वन्द्वका क्रममा तत्कालीन माओवादी सेना र नेपाली सेनाबिच फौजी भिडन्त भएको पिली अहिले ‘युद्ध पर्यटन’ का रूपमा परिचित हुन थालेको छ । पिली भिडन्त अध्ययन गर्नेको आकर्षणको केन्द्र बनेको छ । कर्णाली कोरिडोरसँगै जोडिएको र नेपालकै प्रमुख पर्यटकीय गन्तव्य राराताल र जुम्ला घुम्न आउने पर्यटक पिली पनि पुग्न थालेका छन् । युद्धको अन्तिम निसाना पिलीलाई पर्यटकीय गन्तव्य बनाउन २०७९ सालदेखि प्रदेश सरकारले पूर्वाधार निर्माण गरिरहेको छ ।  

डिभिजन वन कार्यालय कालीकोटमार्फत यहाँ विभिन्न पूर्वाधार निर्माण भइरहेका छन् । डिभिजन वन कार्यालय कालीकोटका इन्जिनियर प्रकाश सेजुवालका अनुसार युद्ध सङ्ग्रहालय, रेलिङसहित करिब एक हजार नौ सय मिटर पैदलमार्ग, पौडी पोखरी, पार्किङ, प्रवेशद्वार, भ्यु टावर, टिकट काउन्टर, बुट्यानसहितका दुई वटा चौतारा, शौचालय र गेट निर्माण गरिएको छ । तत्कालीन अवस्थामा नेपाली सेनाको सडक निर्माण कार्यदलमाथि २०६२ साउन २३ गते माओवादीले गरेको आक्रमणमा ठुलो मानवीय र भौतिक क्षति भएको थियो ।