त्रिभुवन विश्वविद्यालयमा डिन र कार्यकारी निर्देशक नियुक्त

त्रिभुवन विश्वविद्यालयमा डिन र कार्यकारी निर्देशक नियुक्त

काठमाडौं - त्रिभुवन विश्वविद्यालयका डिन तथा कार्यकारी निर्देशकहरू नियुक्त भएका छन् । आठ जना डिन र तीन जना कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।

त्रिविका डिन तथा निर्देशक नियुक्तिमा कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपकुलपति केशरजंग बरालबीच रस्साकस्सी भएको थियो । यही विषयमा तीन महिना लामो विवादपछि डिन र कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।

मानविकी तथा सामाजिकशास्त्र संकायको डिनमा प्रा.डा. दुबिनन्द ढकाल नियुक्त भएका छन् भने चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा.डा. मोहनराज शर्मा नियुक्त भएका छन् । त्यस्तै कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा डा. किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा प्रा.डा. बेदराज आचार्य नियुक्त भएका हुन् ।

त्यस्तै, वन विज्ञान अध्ययन संस्थानमा डा. ठाकुर सिलवाल, व्यवस्थापन संकायमा प्रा.डा. महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानमा प्रा.डा.सुशिल बहादुर बज्राचार्य र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा. शंकर खनाल नियुक्त भएका छन् ।

त्यस्तै योजना निर्देशनालयका निर्देशकमा डा. लक्ष्मीकान्त शर्मा नियुक्त भएका छन् भने शिक्षा, विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डा. राजेन्द्र कुँवर र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र कार्यकारी निर्देशकमा प्रा.डा. मिना राजभण्डारी नियुक्त भएका छन् ।