विदेशमा रहेका नेपाली हाम्रा सफ्ट पावर : परराष्ट्रमन्त्री राणा

विदेशमा रहेका नेपाली हाम्रा सफ्ट पावर : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरू मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छिन्।

कांग्रेसको जनसम्पर्क समिति समन्वयले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिका’ विषयक अन्तर्क्रियामा राणाले दोस्रो पुस्तालाई नेपालसँग आबद्ध गराउन आवश्यक रहेको बताइन्।

‘विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरू हाल विभिन्न मुलुकको राजनीतिमा पनि सक्रिय हुनुहुन्छ, उहाँहरू हाम्रा लागि सफ्ट पावर हुनुहुन्छ, हामीले त्यसको उपयोग गर्नुपर्छ,’ उनले भनिन्।

डा. राणाले अहिले गैरआवासीय नेपाली कार्डको विषय मुख्य रहेको उल्लेख गर्दै यो जारी गर्न आवश्यक रहेको बताइन्। ‘तपाईंहरूले लामो समयदेखि एनआरएन कार्डको विषय उठाउँदै आउनुभएको छ, कार्ड जारी गर्न ढिलाइ भइसकेको छ, आजसम्म यहाँहरूले देखाउनुभएको धैर्यको म कदर गर्छु,’ उनले भनिन्।

अहिले नेपालमा स्थायी सरकार गठन भएकाले चाँडै कार्ड जारी हुनेमा उनले आश्वासन दिइन्। एनआरएन कार्डको विषयमा संविधान निर्माणको समयमा व्यापक छलफल भएको उल्लेख गर्दै डा. राणाले कांग्रेस यो विषयमा सुरुदेखि नै प्रतिबद्ध रहेको बताइन्।

अहिले विदेशमा रहेका नेपालीहरूमा सामाजिक सुरक्षा कोषसम्बन्धी आवश्यक जानकारी कम भएकाले पनि समस्या भइरहेको उनको भनाइ थियो।