राष्ट्रिय युवा परिषद्मा ९ जना सदस्य मनोनीत अधिकांश कांग्रेस

काठमााडौं - राष्ट्रिय युवा परिषद्मा थप ९ जना सदस्य मनोनीत भएका छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको सिफारिसमा ९ जना सदस्य मनोनीत गरेका हुन् ।
मन्त्रालयले विभिन्न युवाको क्षेत्रमा क्रियालिश २५ जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था अनुसार १६ जना रिक्त सदस्य मध्ये ९ जना मनोनीत गर्दै शुक्रबार पद तथा गोपनियताको सपथ पनि मन्त्रालयले गराएको छ । परिषद्मा यस अघि ९ जना सदस्य पदमा बहाल रहेका छन् । अब ६ जना सदस्य मात्रै मनोनीत गर्न बाँकी रहेको मन्त्रायले जनाएको छ ।
मन्त्रालयमा मनोनीत भएर शुक्रबार पद तथा गोपनियताको सपथ गर्ने ९ जनामा ८ जना काँग्रेस निकटका सदस्य नियुक्त भएका छन् भने एक जना मात्रै नेकपा (एमाले) निकटबाट नियुक्त भएका छन् ।
काँग्रेस निकट नियुक्त हुनेमा नेविसंघका पूर्व केन्द्रीय सदस्य एलिजा ढकालसहित बिमला मल्ल, विकास अधिकारी, अधिराज रेग्मी, शुनिल शिवाकोटी, अर्णव चौधरी, राजकिशोरकुमार यादव र मोहम्मत मोजरे आलम रहेका छन् भने एमाले निकटबाट अनेरास्ववियु केन्द्रीय सदस्य तथा जेसिज दैलेखका अध्यक्ष प्रतिमा खड्का मात्रै रहेकी छन् ।
२५ जना सदस्य समोवशी सिद्धान्तको आधारमा युवा तथा खेलकुद मन्त्रालयले मनोनयन गर्ने राष्ट्रिय युवा परिषद् ऐन, २०७२ मा व्यवस्था रहेको छ । जसमा युवाको हक, हितको संरक्षण र सम्बद्र्धनमा विशेष योगदान पुर्याएका युवामध्येबाट आदिबासी तथा जनजाति, मधेशी, दलित, अपांगता भएका व्यक्ति, अल्पसंख्यक समुदाय वा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी १५ जना, उद्योग, कृषि, खेलकुद, विज्ञान, प्रविधि तथा वातावरण, साहित्य तथा कलाको क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी ६ जना र युवा सम्बन्धी विभिन्न संघ, संस्थाबाट प्रतिनिधित्व हुनेगरी ४ जना सदस्य युवा तथा खेलकुद मन्त्रालयले नियुक्त गर्ने व्यवस्था छ । त्यसरी मनोनयन गर्दा कम्तीमा ५० प्रतिशत महिलाको प्रतिनिधित्व गराइने व्यवस्था छ । त्यसै व्यवस्था अनुसार मन्त्रालयले ९ जना परिषद्को सदस्य मनोनित गरेको हो ।
मनोनीत सदस्यको पदावधि ४ वर्षको हुने व्यवस्था छ । तर मन्त्रालयले चाहेको खण्डमा जुनसुकै बेला पनि मनोनित सदस्यलाई पदबाट हताउन सक्ने व्यवस्था छ ।
परिषद्मा अहिले बिनोदकुमार शाही, टिकाकुमारी कंडेल, सुनिताकुमारी चौधरी, मनजली चौधरी, रजनी कुमारी, मिना चदरा, ललिताकुमारी साह, जोहरबी चौधरी र शोभा बस्ताकोटी गरेर ९ जना यस अघि देखि नै पदबहाली रहेका छन् ।
राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को दफा ५ मा परिषद् गठनको व्यवस्था रहेको छ । जसमा युवा तथा खेलकुद मन्त्री वा राज्यमन्त्री अध्यक्ष, सरकारले नियुक्त गरेको व्यक्ति उपाध्यक्ष रहने व्यवस्था छ ।
त्यसै व्यवस्था अनुसार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी परिषद्को अध्यक्ष रहेका छन् भने तत्कालीन प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नियुक्त गरेका सुरेन्द्र बस्नेत उपाध्यक्ष छन् । यस्तै अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, कृषि मन्त्रालय, युवा मन्त्रालय, श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिव पदेन सदस्य रहने व्यवस्था छ ।
यस अघि मनोतिन सदस्यमा पनि मिना चदाराबाहेक सबै सदस्य तत्कालीन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले मनोनीत गरेका सदस्य हुन् । चदारा पूर्व युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले माओवादीको कोटाबाट मनोनीत सदस्य हुन् भने बाँकी आठै जना काँग्रेस निकटका सदस्य हुन् ।
परिषद् सबैको साझा हुनुपर्नेमा काँग्रेसको अखडा भएपछि सत्तारुढ दल पनि रुष्ट देखिएको छ । यस अघि र अहिले काँग्रेसबाट नियुक्त भएका अधिकांश सदस्य योग्यता नपुगेका र परिषद्को बोर्ड सदस्य पदमा बसेर काम गर्न अयोग्य रहेका परिष्दमै रहेका पदाधिकारी तथा सदस्यको भनाई छ ।
प्रतिक्रिया