पहिरोको उच्च जोखिममा मान्म बजार

कालीकोट -कालीकोट सदरमुकाम मान्म बजारमा भिरालो डाँडामा छ । बर्सात मौसम आउनासाथ मान्मवासीलाई पहिरोको त्रास हुने गरेको छ । बर्सातको समयमा ससाना पहिरो झर्ने भएकाले बजार क्षेत्र नै पहिरोको उच्च जोखिममा छ । जिल्ला विपत् व्यवस्थापन समितिले मान्म बजारसहित कालीकोटका केही बस्ती पहिरोको उच्च जोखिममा रहेको भन्दै सुरक्षाका उपायहरू अपनाउन सुझाव दिएको छ । बजारको जिरो प्वाइन्ट क्षेत्र झन् उच्च जोखिममा छ ।
नेपाली सेनाको ब्यारेक रहेको आरुपाटादेखिको जमिन सर्दै गएकाले नेपाली सेनाले आफ्नो ब्यारेक सार्नका लागि जग्गाको खोजी गरिरहेका बेला बजारका बासिन्दा भने झन् महँगो घर बनाउँदै बस्ती विस्तार गरिरहेका छन् । कर्णाली राजमार्गसँग जोडिएको बजार भएकाले व्यापारिक प्रयोजनका लागि घरमा लगानी बढ्दै गएको छ ।
तर बर्सात सुरु हुने बित्तिकै घरआँगनमा त्रिपाल बिछ्याउनुपर्ने यहाँका घरधनीको बाध्यता छ । पानी पर्नासाथ आँगनमा माटो बग्न सुरु हुन्छ । घरका जग खन्दा पनि जमिन मुनि पहरा छ । त्यही पहरामा घरका पिल्लर उठाउने गरेकाले चिप्लिने खतरा पनि उत्तिकै रहेको छ । जिरोप्वाइन्ट बजारका घरधनी हिरामणि चौलागाईंले आफूले घर बनाएको एक वर्षमै माथिबाट पहिरो झर्न सुरु गरेकाले बास बस्न छोडेको बताउनुभयो । “व्यापार गर्नका लागि भनेर घर बनाए, उही वर्ष पहिरो आयो, अनि छोडियो । अहिले सामान्य भाडामा घर दिएको भए पनि त्रास उस्तै रहेको छ,” उहाँले भन्नुभयो । २०७० सालमा पहिरो आए पनि त्यसको त्रास अहिलेसम्म छ । त्यो समयमा माथि नेपाली सेनाको ब्यारेकबाट जमिन चिरा परेपछि जिरो प्वाइन्ट सबै बजार बगाउँछ झैँ लागेको थियो भन्दै उहाँले तर अहिलेसम्म क्षति नभए पनि त्रास भने कायमै रहेको बताउनुभयो ।
मान्म बिच बजारमा रहेको पदम टेलरिङ सेन्टर रहेको घर पछाडिबाट पहिरो गएको छ । त्यहाँ रहेका चार वटा घरका बासिन्दा दुई महिना अन्यत्र बसे । पछि पहिरो गएको ठाउँमा मेसिनरी पर्खाल लगाएर पुनः बस्न थालेका छन् । खाँडाचव्रm नगरपालिका प्रमुख कमलबहादुर शाहीको घर पनि जिरोप्वाइन्टमा छ । घरको पछाडि तिरको आँगनमा सधैँ त्रिपालले छोपेको देखिन्छ । त्रिपालकै साहरामा उहाँले घर जोगाउनुभएको छ । घरमुनि पहरो छ । त्यो पहरो सरेको खण्डमा घर भत्कने निश्चित जस्तै छ । पहरा नसरेर माटो मात्र बगेमा त्यति डराउनुपर्ने नभए पनि कतिबेला के हुन्छ थाहा हुँदैन भन्नै चिन्ता लागिरहने शाहीले बताउनुभयो । त्यहाँको बस्ती अन्यत्र सार्ने स्रोत पनि छैन ।
विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिरो प्वाइन्ट बजार मात्र होइन, पश्चिमतिरको बजार पनि जोखिममै रहेको बताउनुभयो ।
प्रतिक्रिया