प्रेस स्वतन्त्रताको व्यावहारिक पक्ष

प्रेसको सामान्य अर्थ ‘छापा वा छपाइसँग सम्बन्धित’ भन्ने हुन्छ । आधुनिक सन्दर्भमा यसको अर्थ विस्तारित भई ‘समग्र पत्रकारिता’ को पर्याय बनिसकेको छ । यसर्थ, अखबार मात्र नभई रेडियो, टेलिभिजन र अनलाइन मिडियासमेत यही प्रेस अन्तर्गत समेटिन्छन् । कुनै पनि प्रकारका हस्तक्षेप, अवरोध, नियन्त्रण र प्रतिबन्धबिना मिडियाको स्वतन्त्र कार्यसम्पादन नै प्रेस स्वतन्त्रता हो । यस्तो अवस्थामा स्वतन्त्रतापूर्वक सञ्चार माध्यमबाट समाचार मात्र नभई विचार एवं दृष्टिकोण पनि प्रकाशन वा प्रसारण गर्ने अधिकार रहन्छ । खास गरी प्रजातान्त्रिक देशको सरकारले आफ्ना नागरिकलाई हक अधिकारको प्रत्याभूति गराउने सन्दर्भमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ को वैधानिकता दिएका हुन्छ । यसको सुनिश्चितता संविधान, कानुन र विभिन्न प्रकारका अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट वैधानिक रूपमै हुने गर्छ ।
आज मे ३ तारिख अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस हो । खास गरी प्रेस स्वतन्त्रताको मूल्याङ्कन गर्न, मिडियालाई आफ्नो स्वतन्त्रतामाथिको आव्रmमणबाट बचाउन र पेसामा क्रियाशील रहँदा ज्यान गुमाएका पत्रकारलाई श्रद्धाञ्जली एवं शोकमा परेकालाई समवेदना दिनका लागि यो दिवस मनाइने गरिन्छ । सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घको महासभाले मनाउन थालेको यस दिवसले स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिताको महìव उजागर गर्दै आएको छ । यस्तै पत्रकारमाथि हुने हिंसा, दमन, सेन्सरसिप र दबाबविरुद्ध आवाज बुलन्द गर्ने विश्वभरका पत्रकारको सङ्गठित घडी नै विश्व प्रेस स्वतन्त्रता दिवस हो । आमसर्वसाधारणमा प्रेस स्वतन्त्रताको महìवबारे जनचेतना फैलाउने र प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाउने कानुनी वा राजनीतिक सीमाको विरोध गर्ने विषयमा पनि प्रेस स्वतन्त्रता दिवस महìवपूर्ण छ । सैद्धान्तिक रूपमा हेर्दा विश्वभर प्रेस स्वतन्त्रताको रक्षा र संवर्धनमा यस दिवसले जति स्थान वा महìव लिएको छ, के साँच्चिकै व्यावहारिक धरातल पनि सोही अवस्था बन्दै छ त भनेर समीक्षा गर्नुपर्ने हुन्छ ।
विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको प्रेस स्वतन्त्रताको विश्वव्यापी अवस्था उच्चस्तरमा नरहेको पुष्टि गर्छ । नेपालको संविधानको धारा १७ (२) (क) र धारा १९ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको मौलिक हक भनेर प्रत्याभूत गरेको मात्रै छैन, संविधानको प्रस्तावनामा समेत पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत हुने उल्लेख गरेको छ । यस्तै, प्रेस काउन्सिल ऐन, सूचना तथा सञ्चार नीतिहरू, पत्रकार आचारसंहितालगायतका नियमबाट पनि प्रेसको अधिकार परिभाषित गरिएको छ । नेपाल पक्षराष्ट्र भएर हस्ताक्षर गरिएको अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिहरूले पनि प्रेस स्वतन्त्रताको समर्थन गर्छ ।
नेपालको सन्दर्भमा प्रेस स्वतन्त्रताको सारवान कानुनी एवं नीतिगत आधार र प्रयोगपरक व्यावहारिकताबिच ठुलो बेमेल पाइन्छ । राजनीतिक, आर्थिक, सामाजिकलगायतका विभिन्न कारणले अहिले पनि नेपाली पत्रकारितामा पूर्ण प्रेस स्वतन्त्रता कुण्ठित भइरहेको छ । प्रेस स्वतन्त्रताका व्यावहारिक पक्षमा धेरै उल्झन र समस्या देखिएका छन् ।
राजनीतिक कारण
पछिल्ला दशकमा समेत नेपालको राजनीतिक परिवेश स्थिर नभएकाले प्रेस स्वतन्त्रता सधैँ उतारचढाबमा रहँदै आएको छ । यसमा सत्तापक्ष र प्रतिपक्षको कोपभाजनमा सधैँ जसो पत्रकारिता नै पर्ने गरेको छ । त्यसो त पत्रकार आफैँ पनि राजनीतिक आस्थाका आधारमा फरक फरक झुन्ड, गुट वा समूहमा विभक्त भइरहेको अवस्था छ । देशका ठुला भनिएका दलदेखि लिएर साना दलसम्मकै आस्थाका आधारमा आज पत्रकारिताबिच नै अलग अलग समूह बनेका छन् । कतिपय राजनीतिक दलविशेषले त पत्रकारलाई पनि आफ्नो ‘भ्रातृ सङ्गठन’ बनाएर अमुक राजनीतिक अभीष्ट पूरा गर्ने अस्त्र बनाइरहेको पाइन्छ । पत्रकारहरूको हकहित गर्ने साझा छाता संस्थाको रूपमा परिचित नेपाल पत्रकार महासङ्घको निर्वाचनताका त झन् बढी राजनीतिक दलको प्रत्यक्ष दबाबमा आस्थावान् पत्रकार पर्ने गर्छन् । सिद्धान्ततः राज्यको चौथो अङ्गको रूपमा रहेको पत्रकारिता पूर्णतः स्वतन्त्र र निष्पक्ष हुन्छ भनिए पनि व्यवहारतः पत्रकारभित्रकै राजनीतिक आस्थाका आधारमा निर्मित समूह विशेषले उक्त ‘स्वतन्त्रता’ लाई सधैँ गिज्याइरहेको पाइन्छ । यही पृष्ठभूमिमा पनि राजनीतिक दलसम्बद्ध कार्यक्रमको प्रचारप्रसार गर्न लाग्दा कैयौँ पत्रकार विपक्षीबाट निशानामा पर्ने गरेका छन् ।
अहिले पत्रकारिता र राजनीतिबिच व्यवहारतः पूरकपरक सम्बन्ध बनिरहेको छ । पत्रकारिता बचाउन राजनीतिक संयन्त्र र राजनीतिक संयन्त्र बचाउन पत्रकारिता क्रियाशील हुँदा पनि प्रेस स्वतन्त्रता कुण्ठित बनेको हो । आज पत्रकारिताले राजनीतिलाई दिशानिर्देश गर्नेभन्दा पनि राजनीतिले पत्रकारितालाई गाइड गरेका कारण अब दलगत आस्थाभन्दा माथि उठेर स्वतन्त्र पत्रकारितको व्यावहारिक अभ्यास बढाउनुपर्ने अवस्था सिर्जना भएको छ । यस्तै सत्ता समीकरण र प्राप्तिसँगै तिनका विरुद्ध कुनै समाचार सम्प्रेषण गर्दा पनि धम्की, दबाब र सेन्सरसिप भोग्नु परेका पर्याप्त दृष्टान्त छन् । नेपाली पत्रकारिताको व्यावहारिक अभ्यासमा प्रेस स्वतन्त्रता कुण्ठित हुने सबभन्दा ठुलो खतरनाक कारक भनेको यही राजनीतिलाई मान्न सकिन्छ ।
आर्थिक दुरवस्था
व्यावसायिक नेपाली पत्रकारितामा सबैभन्दा ठुलो समस्याको रूपमा मौलाएको पक्ष भनेको आर्थिक दुरवस्था नै हो । देशको आर्थिक मन्दीजन्य अवस्थाले गर्दा त पछिल्लो समय मिडिया उद्योगहरूले पर्याप्त मात्रामा विज्ञापन पाउन सकिरहेका छैनन् । राजधानीकेन्द्रित मिडिया केही फस्टाए पनि मोफसलका मिडिया दिनानुदिन कमजोर हुँदै गएका छन् । सत्तापक्ष र प्रतिपक्षको भूमिकाका आधारमा सरकारी विज्ञापन वितरण प्रणाली निर्भर भइरहेको कटु यथार्थ छर्लङ्ङ छँदै छ । समानुपातिक विज्ञापन नीतिको रटान व्यावहारिक कार्यान्वयनमा पटक्कै पाउन सकिएको छैन । अपारदर्शी र पहुँचकेन्द्रित विज्ञापन वितरण प्रणालीका कारण कैयौँ मिडियाले विज्ञापनको सहज पहुँचबाट विमुख हुन गई आर्थिक समस्या भोग्नु परेको छ ।
मिडिया हाउस नै आर्थिक रूपमा कमजोर भएपछि त्यहाँ कार्यरत पत्रकारले पनि राम्रो तलबभत्ता पाउन सक्दैनन् । परिणामतः आज विशुद्ध पत्रकारिता पेसा मात्रै अँगालेर जीवननिर्वाह गर्ने पत्रकारको सङ्ख्या न्यून छ । पूर्णतः श्रमजीवी पत्रकारको सङ्ख्या उल्लेखनीय पाइँदैन । आफ्नो कमजोर आर्थिक अवस्थाबाट मुक्ति पाउन पनि विज्ञापनको निहुँ वा प्रभावमा पर्दै पत्रकारले मूल्यहीन वा न्यून मूल्य भएका समाचारलाई प्राथमिकता दिनुपर्ने बाध्यता बन्छ । विज्ञापनमुखी सामग्री सम्प्रेषण गर्नुपर्ने अवस्था बन्छ भने ‘व्यक्ति गुणग्राही’ सामग्रीलाई प्राथमिकता दिइनुपर्ने हुन्छ । यस्तो प्रभावले पत्रकार तथा सम्पादक स्वतन्त्र ढङ्गले कलम चलाउन गाह्रो मान्छन् । मिडिया सञ्चालक वा लगानीकर्ताले पनि विज्ञापनदातालाई नै बढी महìव दिनु परेको छ । यिनैको इसारामा सम्पादकीय स्वतन्त्रता पनि कुण्ठित भइरहेको छ । यसर्थ, जबसम्म सञ्चार गृह र त्यहाँ कार्यरत पत्रकारमा आर्थिक सङ्कट चुलिरहन्छ तबसम्म प्रेस स्वतन्त्रताको व्यावहारिक अभ्यासमा चुनौती रहिरन्छ ।
सामाजिक दबाब
पछिल्ला कैयौँ घटनाले स्वतन्त्र पत्रकारितामाथि सामाजिक दबाब बढ्दै छ । विशेष गरी देशका दुर्गम तथा ग्रामीण क्षेत्रमा काम गर्ने पत्रकारलाई सामाजिक दबाब, जातीय भेदभाव र सुरक्षाको अभावले काम गर्न कठिन हुँदै छ । कुनै अमुक समुदाय वा सङ्गठनको गलत व्रिmयाकलापबारे समाचार सम्प्रेषण गर्दा पत्रकार आफैँ निशाना बन्ने गरेका धेरै उदाहरण छन् । त्यस्तो सामाजिक दबाबसामु पत्रकारिताको आफ्नो स्वतन्त्रता र कानुनी अधिकारबारे कुनै सुनुवाइ हुँदैन । पत्रकारिताबारे जनमानसमा फैलिएको भ्रम एवं अफबाहको कसीमा दाँज्ने काम मात्र हुने गर्छ । कतिपय अवस्थामा पहिले पत्रकारलाई आफैँ समाचार सम्प्रेषण गर्न लगाएर पछि अप्ठ्यारो अवस्था आउँदा ‘मिडियाले तोडमोड गरेर मिथ्या समाचार सम्प्रेषण गरेको हो’ भन्ने तरिकाबाट मानमर्दन गर्ने प्रवृत्ति बढ्दो छ ।
त्यसो त मिडिया स्वयम् पनि स्वतन्त्रताको प्रयोगमा जिम्मेवारी नबन्दा सामाजिक रूपबाट आलोचना खेप्न बाध्य बनेका छन् । तथ्यहीन समाचार, उट्पट्याङ प्रकृतिका शीर्षक, चरित्र हत्या गर्ने खालका अफवाह र भ्रामक सामग्रीले पत्रकारितामा नैतिकताको गम्भीर प्रश्न उठाएको छ । चाँडै ‘भाइरल’ हुने निहुँमा बढीभन्दा बढी तथ्यविहीन सामग्री सार्वजनिक हुने गर्छन् । यस्ता सामग्रीबाट एकातिर समाजमा मिथ्या सूचना सम्प्रेषण भई सामाजिक घृणा फैलाउने सम्भावना बढ्दो छ भने अर्कातिर अव्यावसायिक र पेसाविरोधी अभ्यासले निश्चय पनि व्यवहारतः प्रेस स्वतन्त्रताको मूल्य घटाइरहेको छ । यही कुरालाई रोक लगाउन खोज्दा पनि कतिपय सन्दर्भमा प्रेस स्वतन्त्रतामा अङ्कुश लगाइयो भनेर आलोचना हुँदै पुनः मिथ्या प्रचार बढ्ने गरेको पाइन्छ ।
प्रेस स्वतन्त्रतासँगै गाँसिएर आउने प्रेस उत्तरदायित्वको सबालमा पनि नेपाली पत्रकार बढी जागरूक हुनुपर्ने भएको छ किनकि स्वतन्त्र प्रेस हुनु भनेको पत्रकारलाई जुनसुकै कुरा लेख्न छुट दिनु होइन । पत्रकारको लेखाइ सधैँ तथ्यमा आधारित भई सत्य र निष्पक्ष हुनै पर्छ । आफ्नो आचारसंहितालाई अनुसरण गरी तथ्यको पुष्टि, स्रोतको सुरक्षा, सबैमा समान दृष्टिकोण, शिष्ट र मर्यादित भाषाको प्रयोग आदिमा लेखनी बढाउन सकियो भने निश्चय पनि ‘नागरिक प्रेस स्वतन्त्रता’ को प्रत्याभूति हुन्छ । यस्तै राजनीतिक प्रभावबाट मुक्ति, विद्यमान सञ्चारसम्बद्ध कानुनको पुनरवलोकन, समानुपातिक विज्ञापन नीतिको पूर्ण कार्यान्वयन र मिडिया साक्षरतामा अभिवृद्धि गरेर पनि प्रेस स्वतन्त्रताको व्यावहारिक पक्षमा सुदृढीकरण गर्न सकिन्छ ।
प्रेस स्वतन्त्रता भन्ने विषय कुनै एक दिनको मात्रै उपलब्धि नभई निरन्तर अभ्यास, सङ्घर्ष र सुधारबाट प्राप्त परिणाम हो । यसको रक्षाका लागि सबै व्यावहारिक तवरबाट ‘सत्य’ को पक्षमा उभिनु पर्छ । असत्य, झुट र मिथ्यापरक प्रचारको जगजगी भइरहेको वर्तमान समयमा सत्य पचाउने जमात अलि कम छ । मिडियाले त्यही सत्य पचाउने जमातको सहारामा सबैमाझ सत्य बोल्न, लेख्न र सार्वजनिक गर्न विशेष योगदान पु-याउनु पर्छ । यसो गर्न सकियो भने समाजमा मिडियामाथिको विश्वसनीयता बढ्न गई व्यावहारिक प्रेस स्वतन्त्रता सुनिश्चित हुने गर्छ ।
प्रतिक्रिया