कर्णाली प्रदेशमा बढ्यो सुरक्षा चुनौती

कर्णाली प्रदेशमा बढ्यो सुरक्षा चुनौती

सुर्खेत - कर्णाली प्रदेशमा आपराधिक घटना बढेपछि प्रहरीलाई शान्तिसुरक्षामा चुनौती थपिएको छ । पछिल्लो चार वर्षको अवधिमा कर्णालीमा छ हजार ३८० अपराधका घटना प्रहरीसँग पुगेका छन् । प्रदेश प्रहरी कार्यालय कर्णालीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा कर्णालीभर एक हजार ५४० आपराधिक घटना भएका छन् । आव २०७९/८० मा एक हजार ७५७ अपराधका घटना प्रहरीमा दर्ता भएका छन् ।

आव २०८०/८१ मा दुई हजार २० घटना घट्दा चालु आवमा ११ सयभन्दा बढी अपराधका घटना भएको प्रहरीको तथ्याङ्क छ । जसमा आत्महत्यासम्बन्धी अपराधका घटना धेरै हुने गरेको प्रहरीले जनाएको छ । पछिल्लो चार वर्षको अवधिमा कर्णाली प्रदेशका १० जिल्लामा १९२ वटा आत्महत्याका घटना भएका छन् । आत्महत्यासम्बन्धी अपराधका घटना सबैभन्दा धेरै सुर्खेतमा ३९३ र सबैभन्दा कम डोल्पामा पाँच भएका छन् ।

आत्महत्या अन्तर्गत विष सेवन, आगो लगाएर, झुन्डिएर, ऐसिड सेवन, हातहतियार औजारबाट र पानीमा हाम फालेर वा डुबेर घटना भएका छन् । सबैभन्दा धेरै झुन्डिएर ९०४ वटा आत्महत्याका घटना भएको छ । कर्णालीमा सामाजिक अपराधका घटना हुने क्रम पनि बढ्दो छ । पछिल्लो समय कर्णाली प्रदेशमा सामाजिक अपराधका घटना पनि बढ्दो क्रममा छन् ।

तथ्याङ्क अनुसार प्रदेशका १० जिल्लामा पछिल्लो चार वर्षको अवधिमा ८०३ वटा सामाजिक अपराधका घटना भएका छन् । पछिल्लो आव २०८१/८२ को माघ महिनासम्ममा १२३ वटा सामाजिक अपराधका घटना भएका छन् । यस्तै आव २०८०/८१ मा २६६ वटा, आव २०७९/८० मा १९१ र आव २०७८/७९ मा २२६ वटा सामाजिक अपराधका घटना भएका थिए । चार वर्षमा सामाजिक अपराधका घटना सबैभन्दा धेरै सुर्खेतमा ३३३ र सबैभन्दा कम हुम्लामा नौ वटा भएका छन् । 

प्रहरीका अनुसार कर्णालीमा सङ्गठित तथा आर्थिक अपराधका घटना पनि बढ्दै गएका छन् । प्रदेशभर चार वर्षमा ६१३ वटा सङ्गठित तथा आर्थिक अपराधका घटना भएका छन् । आव २०७८/७९ मा १४४ वटा सङ्गठित तथा आर्थिक अपराधका घटना भएका थिए यस्तै आव २०७९/८० मा १७१ वटा, आव २०८०/८१ मा १६६ वटा सङ्गठित तथा आर्थिक अपराध भएका थिए । आव २०८१/८२ को माघ महिनासम्म १३२ वटा सङ्गठित तथा आर्थिक अपराध भएका छन् । प्रहरीमा उपलब्ध तथ्याङ्कलाई हेर्दा सङ्गठित तथा आर्थिक अपराधमा लागुऔषध कारोबारका घटना सबैभन्दा धेरै देखिन्छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार आत्महत्या, लागुऔषध ओसारपसार, जबरजस्ती करणी, बैङ्किङ कसुरका घटना बढी हुने गरेका छन् । उहाँले पैसा छिटो कमाउने उद्देश्यले जानेर वा नजानेर अपराधका घटनामा संलग्नता बढेको देखिएको बताउनुभयो ।  पछिल्लो चार वर्षमा ३९१ जना लागुऔषध कारोबारमा संलग्न छन् ।

जुवा खेल्न वा सट्टाबाजी, मुद्रासम्बन्धी कसुर, ठगी, लागुऔषध, कालो बजार, चन्दा सङ्कलन, सरकारी छाप दस्तखत किर्ते, अपहरण वा शरीर बन्धकसम्बन्धी कसुर, हातहतियार खरखजनासम्बन्धी मुद्दालाई प्रहरीले सङ्गठित तथा आर्थिक अपराध उल्लेख गरेको छ । 

मानव बेचबिखन ओसारपसारका १७, बहुविवाह २४४, बालविवाह ३२, जबरजस्ती करणी ६५७, जबरजस्ती करणी उद्योग १४७, अप्राकृतिक मैथुन चार, बालयौन दुराचार २९, यौन दुव्र्यवहार नौ, बोक्सीको आरोप चार र बाल हिंसाका घटना तीन वटा प्रहरीसमक्ष आइपुगेका छन् । कर्णालीमा सवारी दुर्घटनाका घटना पनि बढेका छन् । चार वर्षमा प्रदेशभर २३७ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् भने सवारी दुर्घटनाबाट ११६ जना अङ्गभङ्ग भएका छन् ।