राष्ट्र बैंकभित्रैको समस्याले गभर्नर नियुक्तिमा ढिलाइ भएको हो : सभापति देउवा

ललितपुर - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभन्दा पनि राष्ट्र राम्रो बनाउने सबैको कर्तव्य भएकाले त्यसतर्फ लाग्नुपर्ने बताएका छन् ।
पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति विषयक संवादमा सभापति देउवाले देशको अर्थतन्त्रको क्षेत्रमा उदारीकरणका विषयमा कांग्रेसको जीत भएको छ भन्दै दलगत स्वार्थभन्दा पनि बढी राष्ट्रिय स्वार्थलाई ध्यान दिनुपर्ने बताएका हुन् ।
‘भारतमा उदारीकरणको नीति नहुँदा नेपालले सुरुवात गरेको हो, सरकारले व्यापार, उद्योग गर्ने हैन, हामी मात्रै हैनौँ, प्रचण्ड र ओलीजी पनि यही नीतिमा हुनुहुन्छ, सरकारले नागरिकको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने हो, सबै पार्टीहरू उदारीकरण आएका छन्, बेलायतमा अहिले पनि शिक्षा राज्यको नै दायित्व छ, शिक्षामा प्राइभेटले राम्रो त गरेको छ, तर सरकारीले काम गर्नै सकेको अवस्था छैन, दुवैलाई अगाडि बढाइरहेका छौँ, ‘सभापति देउवाले भने।
सभापति देउवाले जलवायु परिवर्तनको विश्वव्यापी समस्याले हिमालहरू पग्लिएर कालापत्थरमा परिणत हुने अवस्था रहेको भन्दै वनजंगल बचाउन ध्यान दिनुपर्ने बताए । उनले भने, ‘ग्लोबल वार्मिङको समस्याले धेरै असहज बनाएको छ, यसमा ध्यान दिनुपर्छ, शिक्षा, स्वास्थ्य एवं हवाई यातायातका क्षेत्रमा नेपालले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ, समावेशी विकास र भेदभावको अन्त्य नेपाली कांग्रेसले नै गरेको हो ।’
राज्यको आवश्यकताअनुसार प्रतिफल दिने आयोजनामा मात्रै लगानी गर्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री देउवाले विदेशी अनुदान घट्दै गएको परिप्रेक्ष्यमा देशभित्रै लगानीमैत्री वातावरण तयार गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘आइटी क्षेत्रको विकासमा जोड दिनुपर्छ, युवा वर्गलाई यस क्षेत्रमा लाग्न प्रोत्साहन गर्नुपर्छ ।’
गभर्नर नियुक्तिका विषयमा भइरहेको ढिलाइका बारेमा सभापति देउवाले राजनीतिक कारणभन्दा पनि राष्ट्र बैंकभित्रैको समस्याले ढिलाइ भएको बताए। ‘गभर्नरको विषयमा अहिले राजनीतिक समस्या छैन, ओलीजी पनि सकारात्मक नै हुनुहुन्छ, राष्ट्र बैंकभित्रकै समस्या हो,‘ उनले भने । उनले निजी क्षेत्रमा लगानी सहज बनाउन संसद्बाट पाँच वटा विधेयक पारित भएको छ भन्दै लगानी गर्न सहज बनाउने गरी बजेट आउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया