लुम्बिनीकी सांसद गीता बेलायत पलायन, उतैबाट राजीनामा पठाइन्

लुम्बिनीकी सांसद गीता बेलायत पलायन, उतैबाट राजीनामा पठाइन्

दाङ -पदबाट राजीनामा दिएकी जनमत पार्टी लुम्बिनीसभाकी सांसद गीता गुरूङ बेलायत पलायन भएको खुलेको छ ।

समानुपातिक सांसद रहेकी गीताले देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यतासहित जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै राजीनामा पत्रमा लेखेकी छन् ।

गीता अब बेलायतमै बस्ने मनसायमा रहेको निकट स्रोतले बतायो । उनी यसअघि नै बेलायत आउजाउ गर्ने गरेको संसदीय दलका नेता चन्द्रकेश गुप्ताले बताए । अहिले पनि उतै रहेको सूचना पाएको गुप्ताले नेपाल प्रेसलाई बताए । उनका अनुसार सांसद गुरूङ पछिल्लो २ महिनायता सम्पर्कमा थिइनन् ।

भैरहवाको सिद्वार्थ नगरकी स्थायी बासिन्दा सांसद गुरूङका एक नातेदारका अनुसार उनी बेलायत गइसकेकी छन् । उनले उतैबाट हस्तलिखित राजीनामा पठाएकी हुन् । गीताको राजीनामा पत्र उनका पति कैलाश गुरूङले सञ्चारकर्मीहरूलाई मेसेन्जरमा पठाइदिएका थिए । ‘उहाँ बेलायत गइसक्नुभएको छ । अब राजनीतिमा आउनुहुन्न । उतै बस्नुहुन्छ`, ती आफन्तले भने ।

गुरुङको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा भने पुगेको छैन । प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सांसद गुरूङको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा आइनसकेको जानकारी दिए । गीताका पति कैलाशको पनि मोबाइल फोन स्वीचअफ छ ।