फुटपाथ व्यवस्थापन गर्दै वीरेन्द्रनगर

सुर्खेत -वीरेन्द्रनगर नगरपालिकाले फुटपाथ व्यवस्थापनका लागि नयाँ योजना ल्याएको छ । फुटपाथ व्यवस्थापनका लागि नगरपालिकाले ‘रेड जोन’, ‘एल्लो जोन’ र ‘ग्रिन जोन’ छुट्याएर फुटपाथ व्यवस्थित गर्न लागेको नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो । उहाँका अनुसार फुटपाथमा व्यवसाय गर्न निषेध गरिएको क्षेत्रलाई ‘रेड जोन’ मा राखिएको छ; जहाँ कुनै पनि प्रकारका व्यवसाय फुटपाथमा गर्न पाइने छैन । सडक तथा सार्वजनिक स्थलमा अनियन्त्रित, अव्यवस्थित र अतिव्रmमित ढङ्गबाट व्यापार व्यवसाय गर्नेको सङ्ख्या बढेपछि दिगो समाधानसहित ‘रेड जोन’ क्षेत्र तोकिएको उहाँको भनाइ छ ।
सडक फोहोर व्यवस्थापन, ट्राफिक जाम र सहरी सौन्दर्यमा असर पर्न थालेपछि नगरपालिकाको कार्यपालिका बैठकले फुटपाथ व्यवस्थापनको योजना अघि बढाएको हो । एयरपोर्ट चोकको तीनकुने क्षेत्र, बसपार्कभित्र जाने दुवै गेट र
मङ्गलगढीमा फुटपाथ व्यवसाय गर्न पूर्ण निषेध गरिने भएको छ । यस्तै रत्न राजमार्ग, हटियालाइन सडक किनारादेखि पाँच मिटर तथा बिरुवा लगाएको तीन मिटर बाहिरी क्षेत्र, नगरभित्रका सडक किनारा र वडा कार्यालयले तोकेका अन्य क्षेत्रमा फुटपाथ राख्न पाइने छैन ।
यसै गरी ‘एल्लो जोन’ मा भने आंशिक रूपमा फुटपाथ व्यवसाय सञ्चालन गर्न दिइने छ । पिपल चौतारा, घण्टाघर दक्षिण नगरपालिका, खेलकुद चोक जाने सडकको दक्षिणतर्फ, घन्टाघर–कालुन्चोक क्षेत्रबाहेकका ठाउँमा सडक खाजा, कर्णालीवासी उद्यमीहरूले उत्पादन गरेका वस्तुको बिव्रmीवितरण गर्न रोक लगाइने छैन । यी स्थानमा गर्मी समयमा बिहान ६–९, साँझ ४–७ र अन्य समयमा ५–८ बजेसम्म व्यवसाय गर्न पाइने छ ।
नगरपालिकाले निर्धारण गरेको ‘ग्रिन जोन’ मा भने व्यवसाय गर्न सकिने छ । यसमा बुलबुले गेटको उत्तरतर्फ विश्वविद्यालयको पर्खालमा खुद्रा सामान र जिल्ला प्रहरी कार्यालयको पूर्वी चोकबाट श्रीकृष्ण माविअगाडि खाजा तथा खुद्रा व्यवसाय सञ्चालन गर्न सकिने छ । नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउने, अव्यवस्थित व्यवसायीलाई दिगो व्यवस्थापनसहित व्यवस्थित गर्ने, फुटपाथ नियमन गर्ने र करको दायरा बढाएर नगरको आयस्रोत बढाउने उद्देश्य नगरको छ ।
प्रतिक्रिया