दुई दशकदेखि नाक्चेलाङ्ना नाका बन्द

दुई दशकदेखि नाक्चेलाङ्ना नाका बन्द

मुगु- तिब्बतसँग जोडिएको मुगुको नाक्चेलाङ्ना नाका दुई दशकदेखि बन्द अवस्थामा रहेको छ । नाका नखोलिँदा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय र जिल्लाका व्यापारीले  प्रत्यक्ष रूपमा कठिनाइ भोग्दै आएका छन् ।

मुगुम कार्मारोङ गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष कार्मा लामाका अनुसार दुई दशकअघि जिल्लाको उत्तरी भेगमा पर्ने नाक्चेलाङ्ना नाका चीनको स्थानीय सरकारले वर्षको पाँच महिनासम्म हाटबजार तथा व्यापार व्यवसायका लागि खुला गर्ने गरेको थियो । उक्त नाका चीन सरकारले यस वर्ष एक साताका लागि मात्र खुला गरेको हो । एक साता मात्र खुला गरिदिँदा मुगुका सीमावर्ती बस्तीका बासिन्दालगायत मुगाली र छिमेकी जिल्लाका नागरिकले सास्ती भोग्नु परेको छ ।   

तिब्बतबाट आयात तथा निर्यात हुने वस्तु लामो समयसम्म नाका नखुल्दा त्यसै थन्किएका छन् । मुगुम कार्मारोङ गाउँपालिका–१ देखि ९ वडासम्मका चिताई, दोल्फु मुगु, कार्ती, किम्री, खारी, ताखा, दाउरा, सेरोग, पुअ, रिउस, मह, माग्रीलगायतका बस्तीका स्थानीयलाई निश्चित समयका लागि मात्र नाका खुला हुँदा जीवन चलाउन मुस्किल बन्दै गएको छ । 

यो नाकामा बर्सौंदेखि स्थानीयले समस्या झेल्दै आएको मुगम कार्मारोङ गाउँपालिका–६ का स्थानीय समाजसेवी घन्ग्याव लामाले बताउनुभयो । दैनिक उपभोग्य वस्तुदेखि भोटेबस्तीमा प्रयोग गरिने लत्ताकपडा र अन्य सामग्री चर्को ढुवानी खर्च तिरेर भारत तथा काठमाडौँबाट ल्याउनु परेको गुनासो लामाले गर्नुभयो । उहाँले मुगालीको रोजगारीका लागि यो नाका बाह्रै महिना खुला गर्नेतर्फ केन्द्रीय सरकारले छिटो पहल गरिदिन आग्रह गर्नुभएको छ । 

मुगम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले नाका खुलाउन पहल गरिदिन गृह मन्त्रालयमा गाउँपालिकाले पटक पटक पत्राचार गरेको जानकारी दिनुभयो । मन्त्रालयले उक्त नाका बाह्रै महिना खुलाउन अहिलेसम्म कुनै पनि पहल नगरेको उहाँको गुनासो छ ।

यता जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार नाक्चेलाङ्ना नाका बाह्रै महिना सञ्चालनामा ल्याउन गृह मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।