त्रिपाल खरिद भ्रष्टाचारमा जोगिएका भट्टराई भिजिट भिसा प्रकरणमा फेरि समातिए

त्रिपाल खरिद भ्रष्टाचारमा जोगिएका भट्टराई भिजिट भिसा प्रकरणमा फेरि समातिए

काठमाडौं - भिजिट भिसामा बाहिर पठाउँदा घुस लिने गरेको उजुरीको आधारमा अख्तियारको नियन्त्रणमा पुगेका सहसचिव तिर्थराज भट्टराई पहिले पनि भ्रष्टाचारको मुद्दा खेपेका व्यक्ति रहेको खुलेको छ । काठमाडौंको एलडिओ रहँदा त्रिपाल खरिद गर्दा ३५ लाख ६ हजार भ्रष्टाचार गरेको आरोप भट्टराईमाथि लागेको थियो ।

२०७२ सालमा आएको भूकम्पपछि अस्थायी वासस्थानका लागि भन्दै खरिद गरिएको त्रिपालमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसमेतलाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो । भूकम्प जाँदा भट्टराई काठमाडौंमा स्थानीय विकास अधिकारी थिए र त्रिपाल खरिद गर्ने प्रमुख व्यक्ति उनी नै थिए । त्रिपाल खरिद गर्दा ३५ लाख ६ हजार ६२६ रुपैयाँ ७६ पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसमेत ६ जनालाई प्रतिवादी कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

तत्कालीन समयमा त्रिपाल खरिद गर्दा भएको भन्दा बढी गुणस्तर, बढी परिमाण र साइज समेत भएको भन्दा बढाएर बिल बनाएको पाइएको थियो । भन्सार छुट दिइएका त्रिपालको मूल्य भन्सार तिरेर ल्याइएको भन्दा बढी रहेको समेत पाइएपछि अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । यद्यपि विशेष अदालतले उक्त मुद्दामा भट्टराईलाई सफाइ दिएको थियो ।