गृहमन्त्रीको राजीनामाबाट विपक्षीहरू ‘ब्याक’, छानबिन समितिमा अड्कियो कुरो

गृहमन्त्रीको राजीनामाबाट विपक्षीहरू ‘ब्याक’, छानबिन समितिमा अड्कियो कुरो

काठमाडौं- गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि विपक्षी दलहरूले आइतबार पनि संसद् बैठकमा अवरोध गरे ।

आइतबार दिउँसो संसद्को गतिरोध हटाउने प्रयासस्वरुप दलहरू आन्तरिक र द्विपक्षीय छलफलमा जुटेका थिए । खासगरी नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीसहितसँग संवाद गरेको थियो ।

उक्त संवादका क्रममा सहमति जुटिसकेको आशययका भनाइ सत्तारूढ नेताहरूले राखे । तर दिउँसो १ बजे र साढे ३ बजे दुई पटक बस्न नसकेको संसद् बेलुका साढे ६ बजे बसे पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भयो । बैठकमा विपक्षी दलले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सोमबार २ बजेसम्मलाई स्थगित गरेका छन् ।

भिजिट भिसा प्रकरणमा विपक्षीहरूले गृहमन्त्री लेखकको राजीनामा मागेर सदनमा अवरोधलाई निरन्तरता दिँदा खासगरी कांग्रेसमाथि दबाब परेको छ। तर सत्ता पक्ष कुनै हालतमा गृहमन्त्रीको राजीनामाको पक्षमा देखिएको छैन ।

प्रतिनिधिसभा बैठक खुलाउनेबारे सत्तारूढ र विपक्षी दलहरू सहमति नजिक पुगेको भनिए पनि अवरोध जारी रहेको हो ।

यसअघि आइतबार दिउँसो नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सांसद ज्ञानेन्द्रबहादुर कार्कीलगायत छलफलमा जुटेका थिए । एमालेले भने कांग्रेस र विपक्षीबीचको निष्कर्ष स्वीकार्ने जनाएको थियो ।

उक्त छलफलमा सहभागी कांग्रेस उपसभापति खड्काले सहमति जुटाउनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन टुंगोमा पुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको संरचना, नीति, कानुनी व्यवस्था सुधार गर्ने गरि काम अघि बढाउने प्रस्ताव गरेका थिए ।

त्यसैगरि अध्यागमनमा सुधारका लागि अध्ययन अनुसन्धान समिति गठन गर्न समिति गठन गर्न सरकार प्रतिबद्ध छ भन्ने आशयको भाषा प्रयोग गर्नुपर्ने प्रस्ताव खड्काले बैठकमा राखेका छन् । कांग्रेसले भ्रष्टाचार नियन्त्रणमा लिखित प्रतिबद्धता जनाउने प्रस्ताव पनि बैठकमा गरेको थियो ।

तर खड्काले यो प्रस्ताव गरे पनि भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि समेत छानबिन गर्ने गरी समिति गठन हुनुपर्ने माओवादीसहितका विपक्षी दलहरूले अडान राखेका छन् ।

कांग्रेसले गरेको उक्त प्रस्तावमा माओवादी केन्द्र र एकीकृत समाजवादी सकारात्मक देखिएका छन् । तर रास्वपाका सांसदहरूले गृहमन्त्री लेखकलाई छानबिनको दायारामा ल्याउनुपर्ने अडान यथावत राखेका छन् । उनीहरूले हिजो रवि लामिछाने गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउने लेखकले पदमा बसिरहन उचित नहुने बताइरहेका छन्।

आइतबार बसेको यो छलफलमा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ र सन्तोष परियारसहित सहभागी थिए ।

एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे पनि छलफलमा सहभागी थिए । तर उनीहरूले सहमति जुटाउन नसकेपछि आइतबारको संसद् बैठक पनि खुलेन । सम्भवत: यसबारेमा सोमबारसम्म सहमति जुट्न सक्ने नेताहरूले बताएका छन् ।

यसबारेमा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक पुगेको बताएका छन् । बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरहेको बताउँदै सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक पुगेको बताए ।
उनले सोमबार संसद बैठकअघि निरन्तर छलफल हुने जानकारी दिए । दिउँसो २ बजे बस्ने बैठक सहज रुपमा सञ्चालन हुने गरि आइतबारको छलफल टुङ्गिएको उनले उल्लेख गरे । बर्तौलाले राज्यको निकायमा हुने गरेका भ्रष्टाचारजन्य कार्य नियन्त्रण गर्न सरकारले प्रतिबद्धता जनाउने गरि छलफल अघि बढेको बताए ।

उता माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका बिषयमा छलफल जारी रहे पनि कुनै सहमति नभएको बताए ।

पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति नभएको बताए । छानबिन समिति बनाउनुपर्छ भन्नेमा आफूहरूको अडान कायमै रहेको उनले बताए ।

त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले आफूहरू निरन्तर छलफलमा रहे पनि विषयको गाम्भीर्यतालाई सत्तापक्षले बुझ्न नसकेको बताए ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने आफूहरूको न्यूनतम माग रहेको उनले उल्लेख गरे । सदनको गतिरोध खुलाउने प्रयास जारी रहेको भन्दै परियारले सोमबारको बैठकअघि दलहरूबीच सहमति हुने विश्वास दिलाए ।