माधव नेपालबारे रामकुमारीको टिप्पणीले तरङ्ग, भनेकी थिइन्, ‘काँधमा सिनो हालेर पार्टी चल्दैन’

माधव नेपालबारे रामकुमारीको टिप्पणीले तरङ्ग, भनेकी थिइन्, ‘काँधमा सिनो हालेर पार्टी चल्दैन’

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको भनाइले तरंग ल्याएको छ । शनिबार लुम्बिनीमा नेतृ झाँक्रीले दिएको कडा अभिव्यक्तिले पार्टीमा हलचल ल्याएको हो ।

उनले शनिबार लुम्बिनीमा अध्यक्ष माधवकुमार नेपालका कारण एकीकृत समाजवादि संकटमा परेको बताएकी थिइन् । उनले अब पुनर्गठन गरेर जानुपर्ने र त्यसका लागि अर्ली महाधिवेशन गर्न पनि प्रस्ताव गरिन् ।


‘म त भन्छु अर्ली महाधिवेशन गरौँ । कानुनी र संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो’, उनले भनेकी थिइन्, ‘कयौँ पार्टी सदस्यहरूमा पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’

उनले यदि काँधमा मरेको सिनो हालेर हिँडिरहने हो भने पार्टी धेरै छिटो विघटन हुने बताइन् । ‘काँधमा मरेको सिनो हालेर हिँड्न सकिदैन, नत्र यो पार्टी धेरै छिटो विघटन हुन्छ’, उनले भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष नेपालतिर लक्षित गर्दै भनिन्, ‘यही नाममा यो जञ्जालभित्र हाल्ने हो भने हामीले यो दु:ख पनि नगरौँ । यस्तै संकटहरूबाट हामी उठनुपर्छ तपाईं-हामी सबैलाई थाहा छ । अध्यक्षकैबारे संकट आएको छ । अब के गर्ने त हामीले, पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने होइन । अर्ली महाधिवेशन गरेर पार्टी पुनर्गठन गरौँ ।’
उनले कानुनीसहित सबै सबै हिसाबले अध्यक्ष नेपालमाथि समस्या आएको बताइन् । ‘अब काँधमाथि सिनो हालेर हिँड्ने हो भने हामी अघि बढ्न सक्दैनौँ’, उनले भनिन्, ‘अर्ली महाधिवेशन गरौँ । हलबाट नेतृत्व छानौँ, तपाईंहरूमध्ये जो पनि नेतृत्व आउनु हुन्छ । टीका लगाएर केन्द्रीय समितिमा पुगेकाहरूबाट पार्टी बन्न सक्दैन ।’

अध्यक्ष नेपाल पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत् आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा असार ११ गते ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधबार भएको थुनछेक बहसपछि नेपाललाई धरौटीमा छाड्ने आदेश दिएका थिए । त्यसपछि बसेको समाजवादीको बैठकले भ्रष्टाचार मुद्दा लागे पनि नेपालले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको थियो ।