आज विश्व जनसङ्ख्या दिवस

आज विश्व जनसङ्ख्या दिवस

काठमाडौं– आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । 

राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको २०० वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढ्यो । सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो सात अर्ब ९० करोड पुगेको छ । 

जनसङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । सन् २०३० मा आठ अर्ब ५० करोड, २०५० मा नौ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ । 

जनसङ्ख्या वृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो सहरीकरण र बसाइँसराइले दूरगामी प्रभाव पारेको एक अध्ययनले देखाएको छ । विगतको तुलनामा वर्तमानमा आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेका अध्ययनको निष्कर्ष छ ।