पर्साको सीमावर्ती गाउँमा आउँदैछन् राहुल गान्धी, रक्सौलमा उच्च सुरक्षा

पर्साको सीमावर्ती गाउँमा आउँदैछन् राहुल गान्धी, रक्सौलमा उच्च सुरक्षा

काठमाडौं–  विधानसभाको चुनावलाई लक्षित गरी भारतीय प्रमुख प्रतिपक्षी दल कांग्रेस आईका अध्यक्ष राहुल गान्धी अहिले नेपालसँग सीमा बाँडेको बिहार राज्यमा ‘भोट अधिकार यात्रा’ गरिरहेका छन् ।

यो यात्रामा गन्धी नेपालको पर्सा जिल्लासँग सीमा जोडिएको चम्पारणसम्म आउनेछन् । उनको आगमनलाई लक्षित गर्दै सीमावर्ती क्षेत्र रक्सौलमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । भारतीय सुरक्षा अधिकारीले कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले सीमावर्ती क्षेत्रमा विशेष सुरक्षा निगरानी बढाएका हुन् । 

चम्पारण जिल्लाका डीएसपी मनीष आनन्दका अनुसार, भारत–नेपाल सीमा क्षेत्रमा प्रहरी र सीमा सुरक्षा बल (एसएसबी) का जवानलाई पूर्णरूपमा अलर्ट गराइएको छ । सबै सीमावर्ती थानाका प्रमुखलाई गस्ती बढाउन र गहन चेकजाँच अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ ।

सीमा चौकीहरू र नेपाल–भारतको सिमामा पर्ने मैत्री पुलहुँदै भारत प्रवेश गर्ने व्यक्तिहरूको कागजात जाँच भइरहेको छ । एसएसबीका जवानहरूले प्रत्येक यात्रुमाथि कडाइका साथ निगरानी गरिरहेका छन् । डीएसपी आनन्दका अनुसार, यात्राको सुरक्षालाई लक्षित गर्दै संवेदनशील मानिएका गाउँ र बजार क्षेत्रमा अतिरिक्त प्रहरी बल परिचालन गरिएको छ ।