विवादित लेखजंगलाई रास्वपाले बनायो उम्मेदवार, गोप्य क्यामेराले भिडियो खिचेकोदेखि नाउपाको सदस्य भएकोसम्म आरोप

विवादित लेखजंगलाई रास्वपाले बनायो उम्मेदवार, गोप्य क्यामेराले भिडियो खिचेकोदेखि नाउपाको सदस्य भएकोसम्म आरोप

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही- ३ को उपचुनावका लागि लेखजंग थापाविरुद्ध उजुरी हुँदा हुँदै छानबिन नगरी उम्मेदवार बनाउने निर्णय गरेको पाइएको छ ।

३ भदौमा थापासहित अन्य ८ प्रतिस्पर्धी पार्टीको नियमअनुसार गोप्य बैठकमा बसेका थिए । त्यो बैठक एक अर्काप्रति थप विश्वास बढ्ने भनिए पनि बैठक सकिँदा अविश्वास उत्पन्न भयो ।

मोबाइलसमेत लक्करमा राखी बैठक कक्षमा पुगेका प्रतिस्पर्धीहरूमध्ये डा. लेखजंग थापाले चस्मामा प्रयोग भएको क्यामेराबाट अडियो र भिडियो कैद गरी गोपनीयता भङ्ग गरेको रास्वपा स्राेतले उल्लेख गर्‍यो । स्राेतका अनुसार उक्त कुरा थाहा पाएलगत्तै अन्य सहभागीले आपत्ति जनाउँदै चस्मा फुकाल्न भनेका थिए । र, उनीविरूद्ध अन्य सहभागीले पार्टीमा लिखित उजुरी दिएका थिए । शिलापत्रलाई प्राप्त उजुरी पत्रमा लेखिएअनुसार थापाले पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेको आरोप लगाई कारबाहीको माग गरिएको छ ।

लुम्बिनी प्रदेश इन्चार्जलाई सम्बोधन गरिएको उक्त पत्रमा थापाले गोप्य चुनावी रणनीतिका  संवाद रेकर्ड गरेको र प्रविधिको चरम दुरुपयोग गरी पार्टी जीवनलाई समेत गम्भीर क्षति पुग्ने र अन्य प्रतिस्पर्धीको राजनीति जीवनमा समेत क्षति पुग्ने देखिएकाले विधानविपरीतका यस्ता गैरराजनीतिक चरित्र प्रस्तुत गर्नेलाई आवश्यक अनुसन्धान गरी कारबाहीको जोडदार माग गरिएको छ ।

उजुरी पत्रको बोधार्थ केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, लुम्बिनी प्रदेश सभापति र जिल्ला सभापति रुपन्देहीलाई दिइएको छ । उक्त दिनको बैठक सुलभ खरेलको सभापतित्वमा बसेको थियो । यसरी कारबाहीको माग गर्ने सबै ८ प्रतिस्पर्धीहरू खरेल, मधुप्रसाद अर्याल, जीतबहादुर गुप्ता, रचना क्षेत्री, ज्ञानु पौड्याल, कुसुम महर्जन, पार्थिवेन्द्र उपाध्याय र पुनम अग्रवाल थिए ।

तर, आइतबार बसेको रास्वपाको बैठकले भने उजुरीमाथि कुनै छानबिन नै गरेन । उल्टै उजुरी परेका थापालाई उम्मेदवार बनाउने निर्णय गर्‍यो । रास्वपाको उक्त निर्णयपछि  पार्टीभित्र असन्तुष्टि बढेको छ ।

रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य लुम्बिनी प्रदेश इन्चार्ज हुन् । उनी सभापती रवि लामिछानेनिकट व्यक्ति मानिन्छन् । उनैलाई पार्टीले १७ कात्तिकमा हुने उपनिर्वाचनकाे नेता चयन गरेकाे छ भने उम्मेदवार छनोटकाे प्रक्रियाकाे समेत जिम्मा दिएकाे थियाे ।

रास्वपाका एक नेताका अनुसार पार्टीभित्र विश्वास कायम गर्न / गराउन नसक्ने व्यक्तिले भोलि विधायकको भूमिकामा कसरी विश्वास आर्जन गर्छ भन्ने मूल प्रश्न उठेको छ । त्यसमाथि पार्टीको अनुशासन कायम गर्न नसकेको र विधानको ख्याल नराखी अरूको व्यक्तिगत गोपनीयता भङ्ग गर्ने उद्देश्यले चस्मामा रेकर्डिङ डिभाइस राख्नु आपत्तिजनक र अनुसन्धानका विषय हो । अर्काे महत्वपूर्ण विषय उजुरी हुँदा हुँदै छानबिन नै नगरी विवादित व्यक्तिलाई उम्मेदवार बनाइनु गम्भीर हेलचेक्र्याइँ हाे ।

चिकित्सक थापाको यो पहिलो सांसद बन्ने चाहना भने थिएन । उनी यसअघि नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट प्रदेश सांसद बन्ने प्रतिस्पर्धीको सूचीमा थिए । उनलाई पार्टीले लुम्बिनी प्रदेशसभाका लागि समानुपातिक उम्मेदवार बनाएको थियो ।

उनले आफू उम्मेदवार बनेको कुरा सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट सार्वजनिक गर्दै लेखेका थिए ‘तपाईंहरू सबैजस्तै म पनि हाम्रो देशमा अर्थपूर्ण सकारात्मक परिवर्तनहरूको प्रारम्भिक आवश्यकतालाई गहिरो रूपमा महसुस गर्छु । म नेपालभित्र र विदेशमा रहेका सबै नेपालीहरूलाई हाम्रो देशमा स्वास्थ्य र शिक्षालाई सुदृढ पार्न हाम्रो आवाजको रूपमा मलाई समर्थन गर्न विनम्र अनुरोध गर्दछु ।’  थापाले उक्त पोस्ट २२ नोभेम्बर २०२२ मा गरेका थिए, जुन अझै उपलब्ध छ । 

उनीनिकटका अनुसार उक्त पार्टीले निर्वाचन आयोगलाई बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा उनको नाम अझै छ । अर्थात्, उनी रास्वपाको उम्मेदवार बन्नु केही समयअघिसम्म सो पार्टीमा सक्रिय थिए ।

नाउपाको सदस्यबाट राजीनामा नदिई उनी रास्वपाको उम्मेदवार बन्न प्रतिस्पर्धामा सहभागी भएका हुन् । त्यसाे त उनकी श्रीमती नुमा शर्मालाई नाउपाकाे तर्फबाट लुम्बिनी प्रदेश याेजना आयाेगकाे सदस्य बनाएका थिए ।

त्यस्तै थापामाथि बहुविवाहको समेत आरोप लागेको छ । नाउपाकाे तर्फबाट लुम्बिनी प्रदेश याेजना आयाेगकाे सदस्य भएकी शर्मा दाेस्राे श्रीमती हुन् । उनले पहिलो श्रीमतीसँगको सम्बन्ध कानुनी रूपमै अलग भएको भनिए पनि हालसम्म दुवै श्रीमतीसँगै रहेको खुलेको रास्वपा स्राेतको दाबी छ । उनका श्रीमतीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालमार्फत थापा कानुनी रूपले समेत विवादित पृष्ठभूमिका व्यक्ति हुन् भन्ने जान्दाजान्दै रास्वपाले उम्मेदवार बनाउँदा पार्टीभित्र अससन्तुष्टि बढेको एक नेताले बताए ।