कर्णाली प्रदेश सरकारको २८ करोड खर्चिएर पर्खाल निर्माण गर्ने निर्णयप्रति राप्रपाको आपत्ति

कर्णाली प्रदेश सरकारको २८ करोड खर्चिएर पर्खाल निर्माण गर्ने निर्णयप्रति राप्रपाको आपत्ति

सुर्खेत — कर्णाली प्रदेश सरकारले मन्त्रालय परिसर वरिपरि २.५ किलोमिटर पर्खाल निर्माण गर्न २८ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्यले कडा आपत्ति जनाएका छन्।

राप्रपाका माननीय सदस्यले मंगलबार जारी गरेको वक्तव्यमा शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता प्राथमिक क्षेत्र संकटग्रस्त अवस्थामा रहेका बेला पर्खालमा करोडौं खर्च गर्नु जनविरोधी कदम भएको टिप्पणी गरेका छन्।

“प्रदेशका विद्यालयहरू अझै पनि शिक्षकविहीन छन्, अस्पतालहरूमा सामान्य औषधि र उपकरण छैनन्, साधारण उपचारका लागि समेत नागरिकहरू नेपालगञ्ज वा भारतसम्म धकेलिन बाध्य छन्, युवाहरू रोजगारीको अभावमा खाडी मुलुक पलायन भइरहेका छन्,” वक्तव्यमा भनिएको छ, “त्यस्तो अवस्थामा २८ करोड रुपैयाँ पर्खालमा खर्च गर्नु घातक, जनविरोधी र लुटतन्त्रको पराकाष्टा हो।”

उनले जनताको करबाट उठेको रकम तत्काल शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना जस्ता क्षेत्रमा पुनः विनियोजन गर्नुपर्ने माग राखेका छन्। अन्यथा प्रदेशसभामा यस विषयलाई कडाइका साथ उठाइने र आवश्यक परे वैधानिक तथा राजनीतिक कदम चालिने चेतावनी पनि उनले दिएका छन्।

राप्रपा कर्णाली प्रदेश सभा सदस्यको तर्फबाट जारी वक्तव्यमा भनिएको छ, “कर्णालीलाई पर्खाल होइन, शिक्षा–स्वास्थ्य र रोजगारी चाहिन्छ।”