यातायात व्यवस्था कार्यालय सुर्खेतमा एकलविन्दु सेवा प्रणाली लागु

यातायात व्यवस्था कार्यालय सुर्खेतमा एकलविन्दु सेवा प्रणाली लागु

काठमाडौँ– यातायत व्यवस्था कार्यालय सुर्खेतको सेवा प्रवाहलाई छरितो, पारदर्शी र जनमैत्री बनाउन एकलविन्दु सेवा प्रवाह प्रणाली लागू गरिने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको प्रदेश निर्देशक समितिको बैठकले सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयलाई एकल सेवाविन्दु छनोट गर्ने निर्णय गरेको छ ।

एकलविन्दु सेवा केन्द्र सञ्चालन भएपछि सेवाग्राहीलाई एउटै स्थानबाट सम्पूर्ण यातायातसम्बन्धी सेवा लिन सहज हुनेछ । सेवा लागू भएसँगै सवारीसाधन दर्ता, नवीकरण, कर तिर्ने, जरिवाना भुक्तानी, सवारीसाधन जाँचपास, सवारीचालक अनुमतिपत्र (लाइसेन्स)सम्बन्धी प्रक्रियाको लागि सेवाग्राहीले विभिन्न काउन्टर धाउनुपर्ने छैन ।

यो सेवा लागु भएपछि समयको बचतका साथै सेवाप्रवाहमा पारदर्शिता बढ्ने विश्वास लिइएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री कँडेलले बैठकमा सम्बोधन गर्दै यो सेवा सञ्चालन भएसँगै आम नागरिकले यातायातसम्बन्धी सेवा लिनका लागि अनावश्यक रुपमा हुने ढिलाइ कमी हुने बताए । उनले एकलविन्दु सेवा केन्द्र सञ्चालन भएसँगै एकै स्थानबाट छिटो र पारदर्शी सेवाप्रवाह हुने विश्वास व्यक्त गरे ।