युट्यूव बन्द हुँदा आत्तिए संगीतकर्मी, रोजिरोटीमै समस्या आउने चिन्ता

काठमाडौं - नेपालमा सूचिकरण नभएका सामाजिक संजालहरु निष्क्रिय गर्ने सरकारको निर्णयको असर चलचित्र र सांगितिक क्षेत्रमासमेत परेको छ । चलचित्रका ट्रेलर, टिजर र गीतहरु सार्वजनिक गर्ने तरखरमा रहेका चलचित्रकर्मीहरु सरकारको निर्णयले बिलखबन्दमा परेका छन् । अन्य विधाका गीतहरु सार्वजनिक गर्ने तयारीमा रहेका संगीतकर्मीहरु पनि अलमलमा परेका छन् ।
अहिले फेसबुक, ह्वाटसएप, एक्स लगायत नेपालमा लोकप्रिय रहेका धेरै सामाजिक संजाल आंशिक रुपमा चल्न छोडिसके । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० अनुरुप सूचिकरण नभएका संजालहरुलाई निष्क्रिय पार्ने सरकारले निर्णय गरेको छ । त्यही निर्णयको असर स्वरुप अहिले सामाजिक सञ्जाल आंशिक रुपमा मात्रै चलिरहेका छन् ।
सरकारको यस्तो निर्णयले चलचित्रकर्मी, संगीतकर्मीहरुलाई निकै नै असर गरिरहेको छ । उनीहरुले युट्युबमा गीतहरु अपलोड गरेर फेसबुक, एक्स लगायत संजालमा लिंक सेयर गरेर प्रमोसन गर्थे । तर, अब निष्क्रिय भएका संजालहरुका कारण प्रमोसनका बाटाहरु लगभग समाप्त भएका छन् ।
यही कारणले आज दिउँसो पाँच बजे रिलिज हुने तयारीमा रहेका ‘बलिदान’ चलचित्रको गीत ‘आमा’ पोस्टपोन्ड भएको छ । अब कहिले रिलिज गर्ने भन्नेबारे आफूहरु छलफलमै रहेको निर्माता तथा निर्देशक सन्तोष सेनले बताए ।
सेनले भने, ‘सामाजिक संजालमै समस्या आएपछि हामीले क्यान्सिल नै गर्नुपर्ने अवस्था आयो । अब सबै परिस्थिति अनुकूल भएपछि मात्रै सार्वजनिक गर्छौं । तैपनि यस विषयमा हामीले टिमसँग बसेर छलफल गरिरहेका छौं ।’
‘बलिदान’को गीत ओएसआर डिजिटल युट्युब च्यानलमार्फत् युटयुबमा रिलिज हुने तयारीमा थियो । अब कहिले हुने यकिनका साथ भन्न सकिने अवस्था नआएको ओएसआर डिजिटलका संचालक ओम अग्रवालले बताए ।
‘बलिदान’को गीतका साथै अन्य केही कन्टेन्टहरु पनि आज युट्युबमा रिलिज गर्ने तयारीमा थियो, ओएसआर डिजिटल । अब भने अनिश्चित बनेर गएको छ । ओएसआर डिजिटल अधिकांश नेपाली चलचित्रहरुको डिजिटल राइटस् खरिद गर्ने युट्युब च्यानल हो । उसले लाखौं रुपैयाँमा चलचित्रको डिजिटल राइटस् किन्ने गरेको छ ।
‘अहिले हामीले सरकारको निर्णय मान्नैपर्छ । अनि सरकारले पनि छिट्टै नै जनताको माग पनि सम्बोधन गर्ला’, अग्रवालले भने, ‘अब निष्क्रिय संजालहरु पूर्णहरुपमा सक्रिय नभइन्जेलसम्मलाई हाम्रो च्यानलबाट सार्वजनिक हुने कन्टेन्टहरु होल्ड हुने सम्भावना छ । तैपनि अब कसरी अगाडि बढ्ने भनेर हाम्रो टिमले छलफल गरिरहेको छ ।’
तर, सरकारको अचानकको निर्णयले संगीत क्षेत्रलाई भने ठूलो असर गरेको संगीतकार वसन्त सापकोटाको आँकलन छ । अलि ढिलासम्म यसरी नै संजालहरु निष्क्रिय भइरहने हो भने यसले संगीतकर्मीहरुको रोजीरोटीमै समस्या निम्त्याउने उनी बताउँछन् ।
‘अहिले क्यासेटहरु, सिडीहरु बिक्री हुँदैनन् । त्यही सामाजिक संजालमा हालिएको कन्टेन्टका आधारमा संगीतकर्मीहरुले आफ्नो लगानी उठाउनुपर्ने चुनौती छ । अब यसरी बन्द भइरहँदा त यसले दीर्घाकालीन रुपमा हामीलाई अप्ठ्यारोमा पार्छ,’ सापकोटाले भने ।
तथापि सामाजिक संजालहरु नेपालमा सूचिकृत हुन चाहिँ आवश्यक रहेको सापकोटाले औंल्याए । नेपालमा पनि करोडौं प्रयोगकर्ता भएकाले अनि नेपाल भन्ने छुट्टै नियम कानून भएको राष्ट्र भएकाले ती सामाजिक संजालहरुले सरकारको निर्देशन मान्नुपर्ने सापकोटाको तर्क छ ।
तर, अचानक निष्क्रिय पार्ने निर्णय गरेर स्रष्टाहरुलाई मारमा पार्ने काम चाहिँ सरकारले गरिहाल्न नहुने गायक यसकुमारको तर्क छ ।
उनले तीन दिनअघि मात्रै नयाँ गीत ‘हल्का हल्का’ सार्वजनिक गरेका थिए । यसकुमारको यो गीतले औसत भ्युज प्राप्त गरेको छ । अहिलेसम्म पौने पाँच लाख दर्शकले मात्रै हेरेका छन् ।
यो गीत निर्माणमा लाखौं रुपैयाँ खर्च भएको यसकुमारले बताए । तर, सरकारको निर्णयले आफ्नो गीतको डिजिटल प्रमोसनमा निकै नै असर गरेको उनको दुखेसो छ ।
उनले भने, ‘सामाजिक संजालहरु सूचिकरण हुनुपर्छ । तर, यसका लागि सरकारले कुटनीतिक बाटो अपनाउनुपथ्र्यो । अचानक निष्क्रिय पार्ने निर्णय गरिदिँदा हामीजस्ता स्रष्टाहरु मारमा पर्यौं ।’
सरकारको निर्णयले सबैभन्दा ठूलो मारमा भने करोडौं लगानी गरिएका चलचित्रहरु पर्ने सम्भावना देखिन्छ ।
आउँदो साता ‘अभिमन्यु’ त्यसपछि ‘जारी २’, फूलपातिमा ‘बलिदान’, ‘माइतीघर’, हरिबहादुरको जुत्ता’ लगायत ठूला बजेटका चलचित्र आउँदैछन् । करोडौं लगानी गरिएका यी चलचित्रले लगानी उठाउनलाई करोडौं रुपैयाँकै ग्रस कलेक्सन गर्नुपर्ने चुनौती छ ।
तर, चलचित्रको प्रमोसन गर्ने मुख्य प्ल्याटफर्म निष्क्रिय पारिएपछि चलचित्रकर्मीहरुलाई गम्भीर धक्का लागेको छ । यस विषयमा सेनले भने, ‘यी निष्क्रिय संजालहरु समयमै खुलेनन् भने पनि हामीले प्रचारप्रसार गर्नैपर्ने छ । भौतिक रुपमा भए पनि प्रचारप्रसार त गर्नैपर्यो नि ।’
प्रतिक्रिया