भुटानी शरणार्थी प्रकरण : नेतृत्व गरेका दान कार्कीलाई छायामा पार्ने प्रयास, तर सत्यलाई दबाउन सकिँदैन

काठमाडौँ- भुटानी शरणार्थी प्रकरण नेपाली समाजमा पछिल्लो समय सर्वाधिक चासोको विषय बनेको थियो। यो प्रकरणले देखाएको छ कि राजनीतिक संरक्षण, ठूला नाम र संगठित अपराधको जालो कसरी वर्षौँसम्म सामान्य नागरिक र पीडितमाथि खेलिँदो रहेछ।
तर यिनै जटिल परिस्थितिबीच केही इमानदार र साहसी प्रहरी अधिकृतहरूको भूमिकाले यस मुद्दालाई निष्कर्षतर्फ डोर्याएको सबैले बुझेका छन्। त्यसमा सबैभन्दा बढी चर्चामा आएका व्यक्ति हुन् तत्कालीन काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्की।
कार्कीले सुरुदेखि नै ठूलो जोखिम मोलेर अगुवाइ गरेका थिए। आफ्नो व्यक्तिगत लाभ वा राजनीतिक दबाबभन्दा माथि उठ्दै उनले अपराध महाशाखा प्रमुख मनोज केसीलाई अडिग साथ दिए र अभियोजन प्रक्रियालाई दृढतापूर्वक अघि बढाए।
जानकारहरू भन्छन्—यदि कार्कीले कठोर अडान नलिएका भए, मनोज केसीले मात्र यो प्रकरण सफल बनाउन सक्ने थिएनन्। यही तथ्यले कार्कीको योगदानलाई अझ महत्वपूर्ण बनाएको छ।
तर विडम्बना के छ भने, यस्ता साहसी नेतृत्वलाई सम्मान गर्नुभन्दा छायामा पार्ने र कमजोर पार्ने प्रवृत्ति प्रणालीमा अझै बलियो देखिन्छ। हालै कार्कीलाई पन्छाउने दुष्प्रयास गरिएको समाचार सार्वजनिक भएपछि प्रश्न उठेको छ—के हाम्रो प्रणाली इमानदार नेतृत्वलाई स्वीकार्न तयार छैन?
यस घटनापछि समाजका विभिन्न तहमा कार्कीप्रति खुलेर समर्थन व्यक्त गरिएको छ। उनका साहसी निर्णय र नेतृत्वका कारण नै भुटानी शरणार्थी प्रकरण गम्भीरतापूर्वक अघि बढेको भन्दै उनलाई पन्छाउने प्रयासलाई न्याय रोक्ने षड्यन्त्रको रूपमा आलोचना गरिएको छ। सामाजिक सञ्जालदेखि कानुनी क्षेत्रका विज्ञहरूसम्म सबैले कार्कीको दृढता र साहसको सराहना गरेका छन्।
जनतामा स्पष्ट धारणा छ कि कार्की जस्ता इमानदार अधिकारीहरूको कारण नै यो मुद्दा आज यो स्तरमा आइपुगेको हो। यदि यस्ता नेतृत्वलाई कमजोर पारियो भने, अपराधीहरूको मनोबल बढ्ने मात्र होइन, न्याय प्रणालीमाथि आम नागरिकको विश्वास नै धरापमा पर्ने खतरा छ।
यसैले, भुटानी शरणार्थी प्रकरण केवल एक आपराधिक मुद्दा मात्र होइन, यो नेपालको न्याय प्रणाली, राजनीतिक संस्कृति र सामाजिक मूल्यहरूको पनि परीक्षा बनेको छ। यसमा दान कार्कीले खेलेको भूमिका ऐतिहासिक छ।
उनलाई पन्छाउने वा छायामा पार्ने कुनै पनि प्रयास अन्ततः असफल हुनेछ, किनभने सत्यलाई लामो समयसम्म दबाउन सकिँदैन। चाहे तत्कालीन शक्तिले जति प्रयास गरे पनि कार्की जस्ता साहसी नेतृत्वलाई इतिहासले सम्मान गर्नेछ।
कार्की नेपाल प्रहरीमा एकदमै काबिल र अनुभवी प्रहरी अधिकृतको रूपमा स्थापित छन्। बढुवाका क्रममा उनी सबैभन्दा अब्बल सावित समेत भइसकेका छन्।
प्रतिक्रिया