बिपन्नका लागि निःशुल्क स्वास्थ्य बीमा

बिपन्नका लागि निःशुल्क स्वास्थ्य बीमा

हुम्ला-उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका बिपन्न वर्गका लागि निःशुल्क स्वास्थ्य बीमा गरेको छ । आर्थिक अवस्था कमजोर भएको परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा सहयोग गर्न निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिकाले जनाएको छ ।  

गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले स्वास्थ्यक्षेत्र सम्वेदनशील भएकाले सहजरुपमा स्वास्थ्य उपचार बिपन्न बर्गका मानिसले पनि पाऊन् भनेर गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिएको बताउनुभयो । 

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामाले पहिलो पटक वडा १, २ र ३ का बिपन्न ३१० घरधुरीका नागरिकलाई स्वास्थ्य बीमा गरिएको बताउनुभयो । गाउँमा स्वास्थ्यकर्मीको टोली उपचार गर्न जानेक्रममा बिपन्न नागरिकले उपचार गर्न आर्थिक समस्या भएको गुनासो आएपछि बीमा गरिएको उहाँको भनाइ छ ।

यसका लागि नौ लाख ९३ हजार रुपियाँ गाउँपालिकाले लगानी गरेको जनाएको छ । स्वास्थ्य बीमा भदौ १ गतेबाट लागु भएको गाउँपालिकाले जनाएको छ ।  छनौट भएका घरधुरीलाई निःशुल्क गरिएको स्वास्थ्य बीमाबारे जानकारी समेत गराइएको छ ।

गाउँपालिकाले पहिलो वर्ष तीन वटा वडाका लागि गरेको र दोस्रो वर्ष बाँकी तीन वटा वडाका नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने जनाएको छ ।