स्वास्थ्य मन्त्रीको भ्रमणपछि जुम्लावासी खुसी
जुम्ला- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको जुम्ला भ्रमणपछि त्यहाँका बासिन्दा खुसी भएका छन् । मन्त्री बस्नेतले कर्णाली प्रदेशको जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रमण गरेर त्यहाँको स्वास्थ्य सेवा सुधारका क्षेत्रमा पहल कदमी गर्नुभएको छ ।
मन्त्री बस्नेतले भदौ १४ गते प्रतिष्ठानमा डायलिसिस सेवाको शुभारम्भ गर्नुभएको थियो । डायलिसिस सेवा सुरु भएपछि डायलिसिस गर्न सुर्खेत वा नेपालगन्ज पुग्ने गरेका मिर्गौला फेल भएका बिरामीलाई सहज भएको छ । मन्त्री बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास र उपचार सेवा विस्तारका लागि आफूले पहिलो प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
स्थानीयवासीले मन्त्री बस्नेतको भ्रमणपछि प्रतिष्ठानमा स्वास्थ्य सुविधा थपिने र उपचार सेवा सहज हुने आशा गरेका छन् । चन्दननाथ–३ का स्थानीय मनमाया रोकायाले ‘स्वास्थ्य मन्त्रीज्यूले जुम्लामा थप स्वास्थ्य सेवा विस्तार गर्ने’ बताउनुभयो ।
अहिले डायलिसिस सेवा शुभारम्भ भयो । हामी जुम्लावासी खुसी भएका छौँ । अरू मन्त्रीहरूले गफ मात्र गर्ने तर वर्तमान स्वास्थ्य मन्त्री बस्नेतले बोलेको कुरा पुरा गर्ने भन्ने सुनेकाले उहाँप्रति आफूहरूले बढी विश्वास गरेको स्थानीय व्यापारी कमल सेजुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘अरू ठाउँको भन्दा जुम्लाको स्वास्थ्य सेवा प्राथमिकतामा राख्छु भन्नु भएको छ । बचन पूरा गर्नु हुनेछ भन्ने लागेको छ ।’’ सोही अवसरमा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा.राजेश पाण्डव संभाजीरावले स्वास्थ्य मन्त्री बस्नेतलाई स्किल ल्याब टेनिङ सेमुलेसन उपकरण हस्तान्तरण गर्नुभएको थियो । यी उपकरणले प्रतिष्ठानमा विभिन्न तालिम सञ्चालनका लागि सहज हुने छ ।
मन्त्री बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावललाई उक्त सिमुलेशन स्किल ल्याबको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले स्वास्थ्य सेवा प्रदायकहरूलाई पर्याप्त उपकरण आवश्यक पर्ने ह्यान्ड–अन सीप तालिमका लागि सम्भावित स्रोत केन्द्र स्थापना गर्दै आएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अब नेपालमा आपत्कालीन हेरचाह हस्तक्षेपसहित विभिन्न स्तरका तालिमहरूका लागि स्रोत केन्द्रहरू मध्ये एक मानिन्छ । पोर्टेबल सीप प्रयोगशाला उपकरणहरूले प्रशिक्षण मोडालिटीलाई बढवा दिनेछ । यो सीप प्रयोगशाला उपकरणको प्लेसमेन्टका लागि कर्णाली प्रदेश चयन गरेको छ । आवश्यक सीप प्रयोगशाला उपकरणहरू उपलब्ध गराएर, डब्ल्यूएचओले प्रान्तका स्वास्थ्यकर्मीहरूसँग उनीहरूको सीप र दक्षता अभिवृद्धि गर्न आवश्यक उपकरण र स्रोतहरू छन् भनी सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
हस्तान्तरण कार्यक्रममा प्रदेश र सङ्घीय सरकारका सांसदहरूको सहभागिता रहेको थियो । मन्त्री बस्नेतले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा त्यस क्षेत्रका स्थानीय सरकारका प्रमुख, उपप्रमुख र स्वास्थ्य प्रमुखहरूसँग त्यस क्षेत्रको अवस्थाको वर्तमान अवस्था र स्वास्थ्य सुधारका लागि चाल्नु पर्ने सुधारका विषयमा अन्तरक्रिया गर्नुभएको छ । जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा सार्वजनिक गर्दै प्रत्येक प्रदेशका जनप्रतिनिधि र स्वास्थ्य अधिकारीसँग छलफल र अन्तरक्रिया गर्न मन्त्री बस्नेतले हरेक प्रदेशमा जाने योजना नै बनाउनुभएको थियो । उहाँले मधेश प्रदेशको जनकपुर, बाग्मती प्रदेशको काभ्रे र कर्णाली प्रदेशको सुर्खेतमा अन्तरक्रिया सम्पन्न गरिसक्नुभएको छ ।
प्रतिक्रिया