सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

कालीकोट- कालीकोटको खाँडाचक्र नगरपालिका –१० की एक सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । स्वास्थ्यचौकी पाखामा सुत्केरी भएकी बर्ष २० की विमला गोरालको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

सुत्केरीपछि शरीरमा रगतको मात्रा घट्दै गएको र रगत बग्न नरोकिएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी उहाँलाई प्रदेश अस्पताल सुर्खेत लगिएको छ । प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले समयमै उद्धार भएकाले सुत्केरी गोराल र बच्चाको ज्यान जोगिएको बताउनुभयो ।

स्वास्थ्यचौकी पाखाका इन्चार्ज नयाँबहादुर बिष्टले अस्पतालमा छोराको जन्म नर्मल भए पनि ४२ हप्ता नाघिसकेका कारणले आमाको पाठेघरमा इन्जुरी भएकाले रगत बग्न नरोकिएको बताउनुभयो । 

गोरालको शरीरमा रगतको मात्र ८ प्वाइन्ट मात्र थियो । रगत वग्न समेत नरोकिएपछि आपतकालीन हेलिकोप्टरमार्फत उद्धार गरिएको चिकित्सकको भनाइ छ । अहिले गोराल खतरामुक्त हुनुहुन्छ । स्वास्थ्यचौकी नजिक हेलिप्याडको व्यवस्थापन नहुँदा जनज्योति माविसम्म बिरामीलाई स्टेचरमा राखेर लग्नुपरेको थियो ।