सडक स्तरोन्नति सुरु

सडक स्तरोन्नति सुरु

हुम्ला - कर्णाली कोरिडोर अन्तर्गत सिमकोट–हिल्सा सडकको स्तरोन्नति सुरु भएको छ । सडकको ट्र्याक खुलाउने कार्य यसअघि भए पनि स्तरोन्नति अन्तर्गत ग्राभेल सडक निर्माण र सडक छेउमा नाला निर्माणको काम सुरु भएको हो । नाम्खा गाउँपालिका–४ का अध्यक्ष लातार लामाले कर्णाली कोरिडोरको इलिङ लेकदेखि सल्ली भिरसम्मको सडकको स्तरोन्नति सुरु भएको बताउनुभयो । हिल्सा–सिमकोट सडक आयोजनाका इन्जिनियर निरज राजवंशीका अनुसार सिमकोट–हिल्सा सडकको सडक चौडा गर्ने र नाला निर्माण गर्ने कार्य सुरु भएको हो । 

२७ महिनामा सडकको स्तरोन्नति सम्पन्न गर्ने गरी निर्माण कम्पनी कुलेश्वर एचके राय र जनजागृति जेभी हेटौँडासँग सम्झौता भएको थियो । सो कम्पनीले दुई वटा मेसिन केरुङ नाकाबाट तिब्बती मार्ग हँुदै हिल्सादेखि सडक निर्माणस्थल याल्वाङ भिरमा लगिएको थियो । सो खण्डमा पाँचदेखि आठ मिटर चौडा सडकलाई १० मिटर चौडा र सडक किनारमा नाला निर्माण गर्ने छ । 

यसअघि सो सडकको ट्र्याक खोलिएपछि हाल यातायातका साधन सञ्चालन भइरहेको छ । सडक निर्माणका लागि आवश्यक पर्ने मेसिन, इन्धन, ग्याबिन तार सबै निर्माण स्थलमा लगिसकेको बताइन्छ । याल्वाङ भिरबाट इलिङ लेकसम्मको नौ किलोमिटर सडकको स्तरोन्नति कार्य दुई वर्षमा सम्पन्न गरिने छ । सो सडक निर्माण गर्न २२ करोड लागतमा निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको छ ।