स्थानीयले बनाए काठेपुल

स्थानीयले बनाए काठेपुल

रुकुमपश्चिम- रुकुमपश्चिमको मुसीकोट नगरपालिका–८ मा जनश्रमदानबाट दुई वटा काठेपुल निर्माण गरिएको छ । वडाको घट्टेखोला र ठोक्लाबाङखोलामा काठेपुल निर्माण गरिएको हो । 

स्थानीय टेकराज विश्वकर्माका अनुसार घट्टेखोला र ठोक्लाबाङखोलामा काठेपुल निर्माण गरिएको छ । वर्षायाममा खोलाले आउजाउमा अवरोध भएपछि स्थानीय मिलेर पुल बनाइएको हो । घट्टेखोलामा बनाइएको पुलमाथि जस्तापाताको छानासमेत बनाइएको छ । स्थानीयले काठ, श्रमदान र जस्तापाता उपलब्ध गराएका थिए । स्थानीय टेकराज विश्वकर्माले गाउँमा आवश्यकता अनुसार अन्य विकासका काममा श्रमदान गरेर योगदान गर्दै  आएको बताउनुभयो ।

दुवै स्थानमा पुल निर्माणपछि मुसीकोट नगरपालिकाको वडा नं. ७, ८ र ९ वासीलाई आउजाउमा सहज हुने छ । स्थानीय ज्येष्ठ नागरिक हर्कबहादुर ओलीले गाउँले युवा मिलेर काठेपुल निर्माण गरिएपछि आउजाउमा सहज भएको बताउनुभयो । पुल निर्माणले विशेष गरेर विद्यालय आउजाउ गर्ने बालबालिका, दैनिक घाँसदाउराका लागि ओहोरदोहोर गर्ने किसान र ज्येष्ठ नागरिकलाई राहत मिलेको छ ।

स्थानीयका अनुसार दुवै स्थानमा झोलुङ्गे वा पक्की पुलको आवश्यकता रहेको छ । झोलुङ्गे पुल निर्माण गर्ने भन्दै करिब छ वर्ष पहिला नापजाँच भए पनि हालसम्म उक्त योजना पर्न नसकेको स्थानीयको गुनासो रहेको छ ।