मुसीकोटमा सडक क्षेत्र फराकिलो पारिँदै

मुसीकोटमा सडक क्षेत्र फराकिलो पारिँदै

रुकुमपश्चिम - रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले सडक क्षेत्र मिचेर बनाइएका अवैध संरचना हटाउने भएको छ । राप्ती राजमार्ग अन्तर्गतको सडक क्षेत्रमा सरकारबाट मुआब्जा बुझेका जिल्ला सदरमुकामको सेरीगाउँ, सल्ले र सोलाबाङ क्षेत्रमा बनाएका अवैध संरचना हटाउन नगरपालिकाले रातो चिह्न लगाएको छ । 

नगरपालिकाले सडक साँघुरिँदै गएको कारण सवारी व्यवस्थापनमा असहजता भएपछि मुआब्जा बुझिसकेका राप्ती राजमार्गको क्षेत्रमा निर्माण गरिएका संरचना हटाउने तयारी गरेको हो । 

नगरपालिकाले साउन ३० गते सूचना प्रकाशन गरेर मुआब्जा लिइसकेका जग्गामा निर्माण गरिएका संरचना आफैँ हटाउन अनुरोध गरेको थियो । नगरपालिकाले अवैध संरचना आफैँ हटाउन एक महिनाको समय तोकेको थियो । मुसीकोट नगरपालिका–१, सल्लेदेखि वडा नं. ५ सेरीगाउँ र वडा नं. ४ को सोलाबाङ बजारमा मुआब्जा बुझेका जग्गा खाली गर्न नगरपालिकाले पहल थालेको हो । नगरपालिकाका प्रवक्ता समीरजङ्ग मल्लले सल्लेदेखि सेरीगाउँसम्म सडकको दायाँबायाँको एरियामा रातो चिह्न लगाइएको जानकारी दिनुभयो । उहाँका अनुसार रातो चिह्नले सङ्केत गरिएको क्षेत्रभित्रका संरचना तत्काल हटाउन आह्वान गरिएको छ । अटेर गरेमा नगरपालिका आफैँले भत्काउने छ ।

प्राविधिकसहित जनप्रतिनिधि, कर्मचारी र नगर प्रहरीको टोलीले सडकको क्षेत्र पहिचान गरिरहेको छ । वडा नं. ५ का वडाध्यक्ष तथा प्रवक्ता मल्लले आफ्नै वडाबाट अवैध संरचना हटाउने अभियान सुरुवात गर्ने बताउनुभयो । राजमार्गको १५ मिटरभित्र कुनै पनि संरचना बनाउन नमिल्ने भए पनि बजार क्षेत्रमा घना बस्तीका कारण हाललाई नगरपालिकाले सडकको बिच भागदेखि पाँच-पाँच मिटरभित्रका संरचना हटाउन थालेको हो । मुआब्जा लिए नलिएको क्षेत्र यकिन हुन अन्योल भएको हुनाले नगरपालिकाले रातो चिह्न लगाएको बताइन्छ । 

नगर प्रमुख महेन्द्र केसीले सडकको क्षेत्र पहिचान भएपछि नगरपालिकाले तोकेको समयसीमाभित्र स्थानीयले उक्त संरचना आफैँ हटाउन सुरु गर्ने विश्वास लिएको बताउनुभयो । 

सदरमुकाम क्षेत्रमा दिनहुँ सवारी चाप बढ्दै गएका कारण सवारी चाप व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । नगर प्रमुख केसीले बजार एरियाका सडक तथा सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गर्ने व्रmम बढेपछि राप्ती राजमार्गको मिचिएको जग्गा खाली गर्न लागिएको बताउनुभयो ।  नगरपालिकाले खाली गर्न लागेको सडक क्षेत्रमा घरटहरा, घुम्ती पसलतथा व्यावसायिक प्रयोजनका विभिन्न संरचना रहेका छन् ।