लुम्बिनी विकास कोषमा आर्थिक पारदर्शिता छैन : उपाध्यक्ष डा. लामा

लुम्बिनी विकास कोषमा आर्थिक पारदर्शिता छैन : उपाध्यक्ष डा. लामा

भैरहवा-लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले कोषभित्र आर्थिक पारदर्शिता नभएको बताउनुभएको छ । बिहीबार लुम्बिनीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारसँगको अन्तरक्रियामा उपाध्यक्ष लामाले कोषभित्र आर्थिक पारदर्शिता नभएको विषय स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत सन्देश पुगेको बताउनुभयो । 

आफू कमाउनका लागि लुम्बिनी नआएको र लुम्बिनीको विकासमा योगदान गर्न  आफ्नो उद्देश्य रहेको दाबी गर्दै कर्मचारीलाई आर्थिक अनुशासन र पारदर्शिता कायम राख्न निर्देशन दिइएको बताउनुभयो । कोषका कर्मचारीमा काम नगर्ने प्रवृत्ति हाबी हुँदा लुम्बिनी गुरुयोजना समयमै पूरा हुन नसकेको र यहाँको विकास पछाडि परेको लामाले चर्चा गर्नुभयो ।  

कोषभित्रका बिहारले विदेशी पाहुना राख्दा होटेल व्यवसायीहरू मर्कामा परेको गुनासो आएको भन्दै उहाँले विहारहरू अन्य देशमा पनि हुने तर तिनीलाई करको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।  

उहाँले बुद्धत्व झल्किनेगरी मायादेवी मन्दिर पुनः निर्माणका लागि व्यक्तिगत रूपमा सात करोड रुपियाँ प्रदान गर्ने घोषणा गरिसकेको हुँदा उक्त रकम छिटै उपलब्ध गराउने बताउनुभयो । 

लुम्बिनी आउने पर्यटकको बसाई लम्ब्याउन देवदह, तिलौराकोट, रामग्राम र कुदानमा बिहार बनाएर बौद्ध गतिविधि बढाउने योजना कार्यान्वयन गर्ने उहाँले बताउनुभयो ।

लुम्बिनी विकास कोष क्षेत्रमा पशुबध र मासु विक्री वितरण अव्यवस्थित हुँदा लुम्बिनीको गरिमामा आँच पुगेकाले यसलाई व्यवस्थित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । लुम्बिनीसँग जोडिएका कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम र रुपन्देहीको देवदह क्षेत्रको एकीकृत विकासका लागि आफूले सम्बन्धित क्षेत्रका सरोकारवालासँग सहकार्य र छलफल गरी अघि बढ्ने बताउनुभयो ।

उपाध्यक्ष लामाले लुम्बिनी गुरुयोजनाका बाँकी काम छिटो पूरा गर्नेतर्फ आफू क्रियाशील रहेको र यसका लागि आफूले निरन्तर अनुगमन गरिरहेको समेत बताउनुभयो । लुम्बिनीमा बाह्य पर्यटकको बसाइ अवधि लम्ब्याउनेखालका योजना र कार्यक्रम अझै सञ्चालन हुन नसकेको भन्दै आफूले निरन्तर पहल गर्ने बताउनुभयो ।