एनआरएनए लण्डनद्वारा नेम्वाङको निधनमा दुःख व्यक्त
लण्डन– तत्कालीन संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) लण्डनले दुःख व्यक्त गरेको छ ।
संघका प्रवक्ताद्वय सोम सापकोटा र शिव बरुवालले एक विज्ञप्ति जारी गर्दै उनको निधनले विदेशमा बस्ने नेपालीहरू अत्यन्त मर्माहत र स्तब्ध भएको जनाएका छन् ।
संघले विज्ञप्तिमा विशेषतः गैरआवासीय नेपालीका मुद्दाका जानकार, अत्यन्त सहयोगी, विदेशमा बस्ने नेपालीहरुसँग सदैव सद्भाव राख्ने, निकै शालीन र भद्र स्वभावका नेम्वाङको निधनले समग्र नेपाल र नेपालीहरूलाई अपूरणीय क्षति पुर्याएकाे उल्लेख छ ।
संघले गैरआवासीय नेपाली नागरिकताको माग लगायत गैरआवासीय नेपालीका अन्य सरोकार सम्बोधनका लागि उनले निर्वाह गरेको सक्रिय, सन्तुलित र समन्वयकारी भूमिका सदा स्मरण रहने उल्लेख गर्दै भौतिक रूपमा गैरआवासीय नेपाली माझ नरहे पनि उनको असल कर्म र योगदानलाई संघले सदा सम्झिरहने जनाएको छ ।
संघले उनको आत्माको चीर शान्तिको कामनासहित दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
प्रतिक्रिया