राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा भट्ट चयन
काठमाडौँ– माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको अध्यक्षमा अम्बादत्त भट्ट चयन भएका छन् । शुक्रबार काठमाडौंमा बसेको संगठनको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले भट्टलाई अध्यक्ष चुनेको हो ।
चैतमा सम्पन्न संगठनको महाधिवेशनबाट हरिबहादुर रावल अध्यक्ष र भट्ट वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत दोहोरिएका थिए । महाधिवेशनले पाँच महिनासम्म रावलले संगठन चलाउने र त्यसपछि नेतृत्व भट्टलाई हस्तान्तरण गर्ने तय गरेको थियो । महाधिवेशनमा भएको सहमतिअनुसार संगठनको शुक्रबार सम्पन्न दोस्रो पूर्ण बैठकमा रावलले भट्टलाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।
बैतडी घर भइ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत भट्ट सङ्गठनमा दुई कार्यकाल अध्यक्ष र पाँच महिना वरिष्ठ उपाध्यक्ष भइसकेका छन् । भट्टले संगठनको विधान मस्यौदा समिति संयोजकका रुपमा पनि जिम्मेवारी पूरा गरिसकेका छन् । अध्यक्ष चुनिएसँगै भट्टले कर्मचारीको हकहितमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया