काठमाडौंको गैरीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या

काठमाडौंको गैरीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या

काठमाडौँ– काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । गैरीगाउँस्थित दिव्य सः मिलभित्र खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा चारजनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिए । घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ ।

मारिनेमा दुई महिला र दुई पुरुष रहेका छन् । अहिले घटनास्थलमा प्रहरी परिचान भएको मैनालीले जानकारी दिए । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ । मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल रहेका छन् । यस्तै मोरङका १९ वर्षका नवीन राईको मृत्यु भएको छ ।

घटनाको अनुसन्धानका क्रममा सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए । अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरिएको छ ।