सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार गर्न माग

सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार गर्न माग

सुर्खेत- सुर्खेत विमानस्थलको उत्तरतर्फको धावनमार्ग अहिले एक हजार २५५ मिटरको छ । धावनमार्ग साँघुरो हुँदा ठुला जहाज अवतरण हुन सक्दैनन् । लम्बाई कम हुँदा एटीआर–७२ लगायतका ठुला जहाजको क्षमता अनुसार भार बोक्न नसक्ने, प्रदेशको प्रमुख र सक्रिय विमानस्थल भए पनि सर्वसाधारण नागरिकको पहुँचमा छैन । 

अहिलेकै अवस्थामा सर्वसाधारण नागरिकले भाडा तिर्न सक्दैनन् । कम्तीमा पनि एक हजार पाँच सय मिटरको धावनमार्ग विस्तार गर्ने, रात्रिकालीन उडान पनि भर्ने गरी विस्तार गर्ने उद्देश्य थियो। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा ०७७ मङ्सिरको अन्तिम साता बसेको बैठकले विमानस्थललाई ‘एप्रोच लाइट’ सुविधायुक्त विमानस्थलका रूपमा विकास गर्न दीर्घकालीन सोचसहित काम अघि बढाउने निर्णय गरेको थियो ।

झण्डै २ अर्ब बराबर रकम लाग्ने अनुमान गरिएको विमानस्थल विस्तार र स्तरोन्नति भन्दै पहिलो चरणमा प्रदेश सरकारले ५० करोड र केन्द्र सरकारले ५१ करोड बजेट छुट्याए । विस्तारका लागि संघीय र प्रदेश सरकारबीच १५ असोज, ०७७ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । तर प्रदेश सरकारले विस्तारको काम अघि बढाउनै सकेन । 

केन्द्र र प्रदेश सरकारले छुट्याएको एक अर्ब १ करोड रकम फ्रिज भयो । ०७८÷०७९ मा पनि एक अर्ब ५० करोड बराबरको रकम विनियोजन भएको थियो । तर त्यो बेला सबैजसो राजनीतिक दलहरूले विस्तार कार्य अगाडि बढाउनका लागि सहयोग गरेनन् । नागरिक उड्डयन प्राधिकरण र प्रदेश सरकारले विस्तार कार्य अगाडि बढाउनका लागि जग्गाको कारोबार रोक्का गरिसकिएको थियो भने लगत सङ्कलन कार्य अघि बढाइसकिएको थियो । प्रदेश सरकारले नागरिक तहमा कुनै छलफल नै नगरी जग्गा रोक्का प्रक्रियाका लागि पत्र लेख्ने काम ग¥यो, जसको व्यापक विरोध भयो । टीकाराम आचार्यको नेतृत्वमा नागरिक सरोकार समिति नै गठन गरी उक्त समितिले विमानस्थलका लागि अहिलेको स्थान प्रभावकारी नहुने निष्कर्ष निकाल्यो ।

विमानस्थलको धावनमार्ग विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिका १०, ११, र १२ नं वडाका करिब ९ सय २३ घरधुरी परिवार, विद्यालय पनि प्रभावित हुने भएपछि समितिले दीर्घकालीन र अन्तर्राष्ट्रिय विमानस्थलका लागि हाल भएको स्थान प्रभावकारी नहुने निष्कर्ष निकालिएको थियो । यस्तै, अहिले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार गराउन सांसद हृदयराम थानीले विमानस्थल विस्तारका लागि नागरिक उड्डयायन प्राधिकरणमा निवेदन दर्ता गराउनुभएको छ । नागरिक उड्डयायन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसँगको छलफलमा उहाँले प्रभावित क्षेत्रका स्थानीयलाई उचित मुआब्जा दिएर तत्काल विमानस्थल विस्तार गर्नुपर्ने बताउनुभएको छ  ।

५७ वर्ष पुरानो विमानस्थल विस्तार धावनमार्ग सानो हुँदा तापक्रम, सिटसंख्या र तौल सन्तुलन गरेर एटीआर ७२ जहाजले सेवा प्रदान गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै सांसद थानीले तत्काल यही विमानस्थल विस्तारको प्रक्रिया अगाडि बढाउन निर्देशकलाई सुझाव दिनुभएको हो  ।

हाल विमानस्थलको विकल्प खोज्दा मुलुकको आर्थिक स्थितिले तत्काल सम्भवन नहुने भन्दै उहाँले यही विमानस्थलको धानवमार्ग विस्तार मुलुक र कर्णालीवासीलाई लाभदायी हुने बताउनुभएको छ।  जसका लागि हाल कायम रहेको १२५५ मिटरको धावन मार्गलाई उत्तरतर्फ ३०० मिटर विस्तार गर्न सुझाउनुभएको हो । विमानस्थलको धावनमार्ग विस्तार गर्दा प्रभावित क्षेत्रका स्थानीयलाई उचित मु–आब्जाको दिनुपर्ने सांसद थानीले माग राखेर प्राधिकरणमा निवेदन दर्ता गराउनुभएको छ । ‘१२५५ मिटर मात्र रहेको सुर्खेत विमानस्थल बिस्तार गर्न जनतालाई उचित मु–आब्जाको व्यवस्था गरी उत्तरतर्फ ३०० मिटर थप गर्ने कुरामा सबैको साझा धारणा बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।