डोल्पामा पत्ता लागेका नयाँ ताल प्रमाणित गर्दै प्रदेश सरकार

डोल्पामा पत्ता लागेका नयाँ ताल प्रमाणित गर्दै प्रदेश सरकार

सुर्खेत- कर्णाली प्रदेश सरकारले हिमाली क्षेत्रमा पछिल्लो समय पत्ता लागेका नयाँ तालको प्रमाणित गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले नयाँ तालतलैया भेटिनु खुसीको कुरा भएको बताउनुभएको छ । स्थानीय सरकारसँग समन्वय गरेर प्राविधिक टोलीले नयाँ तालको नापजाँच गर्नेगरी योजना बनाएको उहाँको भनाइ छ । नयाँ तालको खोजी र भेटिएका तालको संरक्षण गरिने बिसीले जानकारी दिनुभयो  ।

उहाँले भन्नुभयो, ‘‘पर्यटकीय क्षेत्रहरूको सम्भावनाको खोजीमा प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्नेछ ।’’ आवश्यक बजेटको व्यवस्था गरेर ताल तलैया संरक्षणका कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । डोल्पामा नयाँ ताल भेटिने क्रम जारी रहेको भन्नुुहुँदै उहाँले प्रविधिको विकाससँगै नयाँ कुरा बाहिर आउने गरेको बताउनुभयो । पहिल्लो केही दिनमा डोल्पो बुद्ध र छार्काताङसोङ गाउँपालिकामा नयाँ ताल भेटिएकाले त्यसको प्राविधिक नापजाँच गरिने उहाँको भनाइ छ । तालको नापजाँचका लागि राष्ट्रिय ताल संरक्षण विकास समिति र जल तथा मौसमविज्ञान विभागमा अनुरोध गरिनेछ ।

नयाँ ताल खोज्दै स्थानीय सरकार
डोल्पाका स्थानीय सरकारले ताल खोजीलाई तीव्रता दिएका छन् । पर्यटन प्रवर्द्धन र आन्तरिक आयस्रोत वृद्धि गर्नका लागि पालिकाभित्र रहेका नयाँ ताल र प्राकृतिक सम्पदाको खोजीमा लागेका हुन् ।

डोल्पो बुद्ध गाउँपालिकाले हालैमात्र नयाँ ताल फेला पारेको हो । पाँच हजार एक सय ९० मिटर उचाइमा नयाँ ताल फेला परेको गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले जानकारी दिनुभयो ।

समुद्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिका वडा नं. ६ फालगाउँको हिमालमा नयाँ तालको रुपमा स्थानीयले कुन्ख्येन फालक ताल पहिचान गरेका हुन् । स्थानीयले नै तालको नामकरण गरेका छन् । पालिकाभित्र अझै चारवटा ताल संरक्षणको अभावमा रहेको प्रमुख प्रशासकीय अधिकृत मनबहादुर थापाले बताउनुभयो । विशेष खोज र अनुसन्धानको अभावमा धेरै ताल भए पनि पहिचान र संरक्षण हुन नसकेको उहाँको भनाइ छ ।

आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले डोल्पो बुद्धले हिमतालको खोजी गर्ने योजना अघि सारेको थियो । पर्यटकीय सम्पदाहरुको खोजी, पहिचान र प्रचारमार्फत पर्यटक भित्र्याउने र पालिकाको आन्तरिक आम्दानी वृद्धि गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले बताउनुभयो । पहिचान हुन नसक्दा थुप्रै पर्यटकीय सम्पदाहरु ओझेलमा परेको उहाँ बताउनुहुन्छ ।

डोल्पाकै छार्काताङसोङ गाउँपालिकामा पनि नयाँ ताल भेटिएको छ । सबैभन्दा अग्लो स्थानमा भेटिएको भनिएको नयाँ ताल छार्कताङसोङ गाउँपालिका वडा नं. १ स्थित उच्च मानव बसोवास भएको छार्कभोटमा युवाहरूले पहिचान गरेका हुन् । एकपछि अर्को गरेर ताल फेला पर्दै जाँदा डोल्पाताल तलैयाहरुको भण्डार मानिएको छ । छार्कभोटमा युवाहरूले चार दिन लगाएर तालको सर्वेक्षण गरेका थिए । सर्वेक्षणको क्रममा पङभोर नामले चिनिने तालको उचाइ हालसम्मकै सबैभन्दा अग्लो रहेको दाबी गरिएको छ ।

छार्काताङसोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले विशेष संरक्षणको अभावमा आठ÷नौ वटा ताल पालिकामा रहेको बताउनुभयो । एक महिनाअघि जीपीएस ट्रयाकिङ्ले प्रमाणित गरेर पङभोर ताल पहिचान भएको उहाँले जानकारी दिनुभयो । पङभोर तालको उचाई समुद्र सतहदेखि पाँच हजार पाँच सय ५० दशमलब ९ मिटरको उचाइमा रहेको बताइएको छ ।

यसअघि नै डोल्पामा रहेको शे–फोक्सुण्डो तालले विश्व पहिचान कमाएको छ । डोल्पामा फेरि नयाँ ताल भेटिने क्रम जारी छ । शे–फोक्सुण्डो गाउँपालिका वडा नं. ८ मा पर्ने फोक्सुण्डो तालमा पर्यटकको सङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको छ । गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङ भएका तालको संरक्षण र नयाँ तालको खोजीमा पालिका लागि परेको बताउनुहुन्छ । उहाँका अनुसार नामकरण हुन बाँकी रहेका ४÷५ वटा ताल छन् । सङ्घीय सरकारले यसको खोज अनुसन्धान र संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ । जति धेरै ताल भेटिए पनि उच्च स्थानमा रहेको भन्ने प्रमाणित भने सरकारको आधिकारिक निकायले गर्नुपर्ने भएकोले तत्काल यस्ता तालको मापन तथा सर्वेक्षण गरी आधिकारिकता दिन सरकार गम्भीर हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।