ताँजाकोट–३ मा लालपुर्जा वितरण

ताँजाकोट–३ मा लालपुर्जा वितरण

हुम्ला- ताँजाकोट गाउँपालिका–३, मासपुरका बासिन्दाले जग्गा नापजाँच भएको ३० वर्षपछि लालपुर्जा पाएका छन्। 

दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका–३ को मासपुर गाउँकी बिरकला बुढाले जग्गा नापी भएको ३० वर्षपछि लालपुर्जा पाएको बताउनुभयो। यसअघि एक जनाले मात्र लालपुर्जा पाएकोमा अहिले गाउँका २४ घरधुरीले लालपुर्जा प्राप्त गरेका छन्। मालपोत कार्यालयबाट कर्मचारी नजाने र स्थानीय पनि लालपुर्जा लिन सदरमुकाम नआउने हुँदा मासपुरवासी लालपुर्जा पाउनबाट वञ्चित हुँदै आएका थिए। लालपुर्जा वितरण गर्न मालपोत कार्यालयबाट कर्मचारी खटिएका थिए। 

विसं २०५० फागुन १९ गते यहाँको जग्गा जिल्ला मालपोत कार्यालयमा दर्ता भएको थियो। जग्गा दर्ता भएपछि २०५४ सालमा नापी भएको तर हालसम्म मासपुरवासी लालपुर्जाविहीन थिए। पञ्चायत कालदेखि नै साबिकको मैला गाविस–७ को बँदेलचौरमा एक माना चामल र नुन तिरो तिर्दै आएको स्थानीय केशबहादुर रोकायाले बताउनुभयो। उहाँले लालपुर्जा नहुँदा विगतका दिनमा राज्यबाट पाउने कतिपय सेवा र सुविधाबाट वञ्चित हुनु परेको बताउनुभयो।