अन्तर्वार्ता : शिक्षक पेशालाई सम्मानित र स्वाभिमानी बनाउन आन्दोलन - मल्ल

अन्तर्वार्ता : शिक्षक पेशालाई सम्मानित र स्वाभिमानी बनाउन आन्दोलन - मल्ल

सुर्खेत देखि आन्दोलनमा सहभागी हुन काठमाडौं आएका भानु मावि बजेडीचौर,सुर्खेत का सह-प्राचार्य सुन्दर मल्ल सङको कुराकानीमा आधारित अन्तर्वार्ता ।

पठनपाठन नै छोडेर आन्दोलनमा आउनु उचित हो र?

पठनपाठन ठप्प पारेर आन्दोलनमा आउने बाध्यात्मक अवस्था सिर्जना सरकारका तर्फबाट भयो ।  हाम्रा विरुद्ध शिक्षा विधेयक ल्याउनु  सरकारको ठुलो  षड्यन्त्र हो, यसका विरुद्धको लडाइँमा सामेल हुनु  हाम्रो अपरिहार्यता हो । हामी माथि अन्याय हुँदा टुलुटुलु हेरेर बस्न सकिएन , दिनरात नभनी शिक्षण पेशामा लागेर राष्ट्रको सेवामा समर्पित हामी जस्ता लाखौं शिक्षकलाई अन्याय र विभेद हुनेगरी आएको विधेयक विरुद्ध हामी छौँ ।

सरकारले ल्याएको विधेयकमा तपाईहरुको आपत्ति कहाँ हो ?

१७ बुँदे माग  सहित हामी आन्दोलनमा छौँ । शिक्षकलाई मर्यादित र स्वाभिमानी बनाउनेतर्फ भन्दा उल्टो नियन्त्रण गरेर बन्धक बनाउने शिक्षा विधेयकको लक्ष्य देखिन्छ, कुनै हालतमा त्यसलाई सच्याउनुपर्छ । शिक्षा विधेयक समग्रमा शिक्षकहरुका विरुद्ध छ ।

शिक्षक कर्मचारीलाई संघीय सरकार मातहत राख्ने कुरा संघीयता बिपरित भएन र ? 

नेपालमा संघीयता आएको धेरै भएको छैन, यसको भविष्य अन्यौल छ । हतारहतार गरेर हामीलाई नियन्त्रण गर्ने अधिकार स्थानीय तहमा दिने हो भने काम गर्ने वातावरण बन्दैन । स्थानीय तहका कामकारबाही हेरौं - कसरी भ्रष्टाचारको अखाडा बनिरहेका छन्, प्रशासन कति कमजोर र नेता मुखी छ । संघीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृतको दयनीय अवस्था बाट सबैले पाठ सिक्दा हुन्छ ।

आन्दोलन संविधानको मर्म बिपरित भएन ?

संविधान सबैथोक होइन , संविधानमा राखिएका प्रावधानले शिक्षकलाई कमजोर बनाउँछ भने संसोधन गर्नुपर्छ । निजामती कर्मचारी सरह सुविधा दिन सरकारलाई कसले रोकेको छ ? संविधानले रोकेको छ ? अझ हाम्रो सेवाहरु कटौती गरेर प्रताडित गर्ने काम भैरहेको छ ।

आन्दोलन कहिलेसम्म चल्छ ?

हामी हाम्रो माग पूरा नभएसम्म आन्दोलन गर्छौ, साथीहरू  विभिन्न जिल्ला बाट राजधानी आउने क्रम जारी छ । आन्दोलन हेर्नुस् ६२/६३ सालको जनआन्दोलन कै झझल्को दिने खालको छ । शान्तिपूर्वक हामी आन्दोलन गरिरहेका छौँ, यत्रो लाखौंको संख्यामा आन्दोलनरत शिक्षकका माग छिटोभन्दा छिटो पूरा गर्न सरकार र सदन दुबैलाई ध्यानाकर्षण गराउन चाहन्छु ।