बिरगंज शहरको नयाँ पहिचान : स्वच्छता र सरसफाइ

बिरगंज शहरको नयाँ पहिचान : स्वच्छता र सरसफाइ

काठमाडौं - बीरगंज महानगरपालिकाको स्वरुप बदलिँदै गएको छ । सडकमा हिँड्दा फोहोर गन्हाएर हिँड्नै मुस्किल हुने अवस्थामा रहेको शहर स्वच्छ र साफा देखिन थालेको छ ।

नेपालको सबैभन्दा ठूलो भन्सार नाका पर्ने बीरगंज महानगरपालिका भित्रका सडक देखि सार्वजनिक स्थलहरु सफा देखिन्छन् । महानगरपालिकाले फोहोर गर्नेलाई तुरुन्तै कार्वाही गर्ने गरेको छ ।सार्वजनिक स्थल सफा राख्नुपर्छ भन्ने जनचेतना अभियानले  पनि व्यापकता पाइरहेको छ ।

दिनहुँ घरघरमा फोहोर संकलनको गाडी पुग्छ । मानिसहरू बिस्तारै सचेत हुँदै गएका छन् ।

पहिला- पहिला घरको छतबाट सडकमा छरपस्ट फोहोर फाल्ने परम्पराको अन्त्य हुँदै गएको छ । आजभोलि स्थानीयहरु फोहोर जम्मा गरेर राख्छन् , महानगरको गाडी गएर उठाएर लिन्छ ।


महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले फोहोर गर्नेलाई कार्वाही गर्ने र साथै सरसफाइ सम्बन्धि जनचेतना अभियान चलाएका कारण महानगर स्वच्छ र सफा देखिन थालेको बताउँछन् । `` मानिसलाई लामो समय देखि चलिआएको बानी सुधार्न समय लाग्छ , जागरणले समय लिन्छ तर अहिले बीरगंज हेर्नुभयो भने सफा देखिन्छ ´´ पौडेल बताउँछन् ।


स्थानीय सन्तोष यादव भन्छन् `` आफ्नो घरआँगनमा आफै साफा राख्नुपर्छ भन्ने भावना सबैमा जागृत भएको छ , हामीले फोहोरका कारण विभिन्न रोग लाग्ने कुरा पनि बुझ्यौ र शहरको इज्जतको पनि सवाल भयो ´´ ।