एउटै सडक निर्माण, दुई कार्यालयबाट भुक्तानी

एउटै सडक निर्माण, दुई कार्यालयबाट भुक्तानी

जाजरकोट- जाजरकोटको नलगाड नगरपालिका - ११ मा पर्ने सडक निर्माणका क्रममा   एउटै उपभोक्ता समितिले  दुई कार्यालयबाट भुक्तानी लिएको पाइएको छ । गत आर्थिक बर्ष २०७९-०८० मा राजनीतिक प्रभाव र आर्थिक लेनदेन गरी एउटै सडकमा दुई कार्यालयबाट भुक्तानी भएको पाइएको छ ।

नलगाड नगरपालिका वडा नं. ११ स्थित उखाले तल्लु सडक निर्माण कार्यमा नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोट दुई वटा कार्यालयबाट भुक्तानी लिएको भेटिएको हो । सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०७९ (बाह्रौँ संशोधन) ले गरेका व्यवस्था प्रतिकुल हुने गरी उनै उपभोक्ताहरू रहेको समितिबाट एउटै बाटो निर्माणको भुक्तानी दुई सरकारी निकायबाट लिएको पाइएको छ ।

नलगाड नगर पालिकाबाट १९ लाख ४० हजार र सोही योजनामा भौतिक पूर्वाधार विकास कार्यालय जाजरकोटबाट १३ लाख ४२ हजार १ सय सात रुपैयाँ भुक्तानी दिइएको छ । नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोटसँग उपभोक्ता समितिको तर्फबाट अध्यक्ष प्रेम बहादुर सिंह, सचिव प्रेम बहादुर मल्ल र कोषाध्यक्ष विष्णु कुमारी मल्लले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख सोहिन्दर यादवले सडक निर्माण र भुक्तानी गरिएको सम्बन्धमा भएको के हो त्यसको स्थलगत अध्ययनका लागि कर्मचारी पठाइ सकिएको र  यस्तो एउटै सडकमा दोहोरो भुक्तानी भएको भएमा कारबाही गरिने बताउनु भयो ।

नलगाड नगरपालिका उपप्रमुख तथा अनुगमन समितिका संयोजक सरिता सिंहले “नगरपालिकाकै डिजाइन, स्टिमेट अनुसार काम भएको  कुरा पटक पटक अनुगमनमा  पाइएको ले  सिफारिस दिएको तर  अहिले एउटै काम दुई तिरबाट भुक्तानी भएको कुरा सुन्दा आश्चर्यमा परेको बताउनु भयो ।

नलगाड नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष लाल बहादुर बानियाले असार मसान्तमा आएको रकम भएकाले हतार हतारमा बजेट भुक्तानी हुन थाल्यो भनेर प्राविधिकको सिफारिस अनुसार भुक्तानी दिन भनेर उपभोक्ता समितिलाई सिफारिस गरिएको बताउनु भयो ।