बिग्रिएको चिज बिक्री गर्ने उत्पादक केन्द्रलाई जरिवाना

बिग्रिएको चिज बिक्री गर्ने उत्पादक केन्द्रलाई जरिवाना

रसुवा– दुग्ध विकास संस्थानद्वारा रसुवामा सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई १० हजार जरिवाना गरिएको छ ।

चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको हो । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको नेतृत्वमा रहेको बजार अनुगमन समितिले केन्द्रलाई कारबाहीस्वरूप १० हजार जरिवाना गराउँदै सचेत समेत गराएको छ ।

गोसाइँकुण्ड धार्मिक मार्गस्थित चन्दनबारी चिज उत्पादन केन्द्रको भण्डारमा सडेर राखेका चिज बजारमा बिक्री–वितरण भएको भन्ने जनगुनासो बढेपछि बजार अनुगमन समितिले केन्द्रको भण्डारमा छापा मारेको थियो ।

सरकारी स्वामित्वको चिज केन्द्रमा उपभोग गर्न नमिल्ने गरी सडेको ७५ केजीभन्दा बढी गुणस्तरहीन चिज फेला परेपछि सो चिज नष्ट गरिएको सहायक प्रजिअ एवं अनुगमन समितिका संयोजक ज्ञवालीले जानकारी दिए ।

गोसाइँकुण्डमा भक्तजनको ओहोरदोहोर भइरहने धार्मिक मार्गमा अवस्थित चिज केन्द्रबाट प्रसादका रूपमा समेत भक्तजनले चिज खरिद गर्ने भएका कारण बिग्रिएको चिज बिक्री–वितरण नगर्न स्थानीय बासिन्दाले समेत आग्रह गरेका छन् ।