बनेन सम्पदा प्रवर्धन योजना

बनेन सम्पदा प्रवर्धन योजना

दैलेख- ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा धार्मिक हिसाबले महत्त्वपूर्ण दैलेखको एकीकृत पर्यटन प्रवर्धनको खासै योजना बन्न सकेको छैन। दैलेखमा नेपाली भाषाको पहिलो शिलालेख, कोतगढी, पञ्चदेवल, पानीमाथि आगो बल्ने ज्वाला र कला एवं सा.स्कृतिक महत्त्वका अनगन्ती सम्पदा छन्। तथापि तिनको संरक्षण र पर्यटकीय आकर्षणका रूपमा समेत संरक्षण गर्न सकिएको छैन।

दैलेखमा वार्षिक कति पर्यटक भित्रिन्छन् भन्ने यकिन तथ्याङ्कसमेत कुनै पालिका र जिल्लामा छैन। तथापि पछिल्ला वर्षमा दैलेखमा पर्यटकीय स्थलको अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएको देखिन्छ। स्थानीय सरकारले पर्यटकीय स्थलको संरक्षण, प्रचारप्रसारसँगै अवलोकनमा आएका पर्यटकको तथ्याङ्क सुरक्षित राखेको समेत पाइन्न। 

नारायण नगरपालिका, दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, नौमुले गाउँपालिका र महाबु गाउँपालिकामा विभिन्न धार्मिकदेखि प्राचीन पर्यटकीय स्थलहरू प्रशस्त छन् तर यहाँका पर्यटकीय स्थलको हालसम्म कति पर्यटकले अवलोकन गरे भन्ने तथ्याङ्क कुनै पनि निकायमा भेटिँदैन। नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले पर्यटकीय क्षेत्रको अवलोकनका लागि आउने पर्यटकको तथ्याङ्क नराखिएको बताउनुभयो। उहाँले अबदेखि पर्यटकको विवरण एवं तथ्याङ्क राख्नका लागि आवश्यक कार्ययोजना बनाउने बताउनुभयो। उहाँले नारायणमा रहेका पर्यटकीय क्षेत्रको संरक्षणमा स्थानीय सरकारले काम गर्दै आएको र शुल्कसहितको अभिलेख राख्ने काम गर्ने बताउनुभयो।

दुल्लु नगरपालिकाका प्रमुख भरतप्रसाद रिजालले नेपाली भाषाको शिलालेख, विभिन्न जातजातिको उद्गमस्थल मानिने दुल्लुले पनि यहाँको पर्यटकीय क्षेत्रको प्रचारप्रसार र त्यहाँ आउने पर्यटकको तथ्याङ्क राख्न नसकेको बताउनुभयो। 

उहाँले अहिलेसम्म दुल्लुमा आउने आन्तरिक तथा बाह्य पर्यटकको विवरण राख्ने नगरेको तर पर्यटकको तथ्याङ्क राख्ने निर्णय भए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो। 

जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले स्थानीय सरकारले आफ्नो जिल्लामा आएका पर्यटकको तथ्याङ्क राख्न नसक्नु स्थानीय सरकारको कमजोरी भएको बताउनुभयो। जिल्लामा रहेका विभिन्न पर्यटकीय स्थलमा आउने आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङ्क स्थानीय सरकारले नै राख्नुपर्ने सुझाव उहाँले दिनुभयो।